राजु तामाङ, सर्लाही ।।
फागुन ३ गते, बुधबार ।। सर्लाहीको बागमतीमा जारी सातौं राजर्षि जनक कप फुलबल प्रतियोगितामा मछिन्द्र क्लब अन्तिम ४ मा रहदै सेमिफाइनलमा प्रवेश गरेको छ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक बागमती युवा कलबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा आफुलाई सुरक्षित गरेको हो ।
ए डिभिजन मात्रै नभएर राष्ट्रिय खेलाडीको वर्चस्व रहेको मछिन्द्रलाई जित्नका लागि बागमतीले आच्छु आच्छु बनाएका थिए । खेलको मध्यान्तर सम्म गोल रहित बराबरीमा खेले पनि खेलको ५१ औं मिनेटमा बागमतीका खेलाडी राज भुषालले उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । हाफपछि निकै आक्रमक रुपमा प्रस्तुत भएका बागमतीले केही समय मछिन्द्रलाई दबाबमा राखेका थिए । खेलको ८० औं मिनेटमा मछिन्द्रले पाएको कर्नरलाई सुजल श्रेष्ठले प्रहार गरे ।
सुजलको कर्नर बललाई मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले हेड मार्फत गोल गर्दै खेल बराबरीमा पुय्राए । त्यसपछि दुबै टिमले राम्रो अवसर निकाले पनि गोल गर्न भने सकेनन ९० औं मिनेटको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलमा थप एक्स्ट्रा समय थप गरिएको थियो । उक्त थप गरिएको समयमा पनि गोल रहित बराबरीमा सकिएपछि खेलको नतिजा ट्राइ ब्रेकर बाट निकालिएको हो। ट्राइ ब्रेकरमा आयोजक बागमतीलाई ५-३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको म्यान अफ दि म्याच मछिन्द्रका गोल रक्षक विशाल श्रेष्ठ घोषित हुँदै नगद दस हजार प्राप्त गरे । अब मछिन्द्रले फागुन ५ गते दोस्रो राजर्षि जनक कपका विजेता मोफसलका चर्चित टिम सुदूरपश्चिम -११ को सामना गर्नेछन । प्रतियोगितामा भोलि देखि सेमिफाइनलको खेलहरु सञ्चालन हुनेछ ।
भोलि देखिको खेलहरु अवलोकन गर्न दर्शकले टिकट काट्नु पर्ने आयोजकले बताएको छ । यस अघि प्रतियोगिताको सम्पूर्ण खेल हेर्न नि:शुल्क गरिएको थियो । भोलिको खेल जावलाखेल विरुद्ध संकटा क्लब बीच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद दश लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद पाँच लाख सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Enter
Write to Raju Lo Tamang Prayas