भाइरल पोष्ट, चन्द्रनगर ।।
फागुन ३ गते ।। नेपाल शिक्षक महासंघ चन्द्रनगरले गाउँपालिका अध्यक्षलाई ९ बुँदे स्मरण पत्र बुझाएका छन् ।
गाउँपालिकाले महासंघसँग गरेको सम्झौता अक्षरस कार्यान्वयन गर्न गराउन माग गर्दै महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंहलगायत महासंघका बरिष्ठ सल्लाहकार लालबाबु राय, सचिव रामकुमार राय, नेपाल शिक्षक संघ चन्द्रनगरका अध्यक्ष शुसिल कुमार सिंह, सचिव मोहन कुमार साह, सदस्य सुरेश राय लगायतका शिक्षकहरुले गाउँपालिका अध्यक्ष राजकुमार महतोलाई स्मरण पत्र बुझाएका हुन् ।
विगतमा भएका लिखित सहमति अनुरुप गाउँपालिकाले शिक्षकहरुको केही माग पुरा गरेको तथा केही मागहरुको सम्बन्धमा भएका सहमिति कार्यान्वयन गर्न आलटाल गरेको, नाईनास्ती र ढिलासुस्ती गरेर शिक्षकहरुको मागमा गाउँपालिका उदासिन देखिएको स्मरण पत्रमा उल्लेख गरिएको छ ।
स्मरण पत्रको पहिलो नम्बरमा गाउँपालिका अध्यक्षको अध्यक्षतामा प्रधानाध्यापकहरुसँग भएको १६ बुँदे सहमति कार्यान्वयन सम्बन्धमा स्मरण गराइएको छ । त्यस्तै विद्यालयमा निकासा हुने विभिन्न शिर्षक अनुसारको रकम खर्च गर्ने कार्याविधि सम्न्धमा स्मरण गराइएको छ । त्यसैगरी उनीहरुले गाउँपालिका अध्यक्षले पूर्वाग्राही एवम् बदनियतपूर्ण मनसाय राखि नेपाल शिक्षक महासंघलाई वेवास्ता गरेको विषयमा पनि गाउँपालिकालाई स्मरण गराएका छन् ।
स्मरण पत्रमा उनीहरुले गाउँपालिकाले शिक्षक कर्मचारीहरुप्रति निराधार आरोप लगाएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै सो आरोपको घोर भत्र्सना गरेको छ । त्यस्तै उनीहरुले गाउँपालिकाले विद्यालयहरुमा जडान गरेको ई हाजिरी विद्यालयसँग समन्वय गरी जडान गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै गाउँपालिकाका अध्यक्षको सचिवालयको सामाजिक सञ्जालबाट जारी गरेको कार्यालय समयावधिबारे विद्यालय सञ्चालनको समयावधि सम्बन्धमा अध्यक्षको सचिवालयलाई ज्ञानबोध नभएको बताएका छन् ।
उनीहरुले शैक्षिक सत्र समाप्त हुन लाग्दासमेत गाउँपालिकाले शिक्षक भर्नामा आलटाल गरेको पनि स्मरण पत्रमा उल्लेख गरेका छन् ।