सोम दियाली, हरिवन ।।
फागुन ३ गते ।। सर्लाहीको हरिवनमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबार शुरु भएको छ । हरिवन ८ स्थित महादेव जनता नमूना माविको प्राङ्गणमा शुरु भएको प्रतियोगिताको हरिवन नगरपालिकाका नगरप्रमुख मेयर रमेश कुमार बुढाथोकी पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

माघ ५ गते सम्म चल्ने प्रतियोगितामा हरिवन नगरपालिका भित्रका सामुदायिक तथा निजी गरी १२ आधारभूत तथा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा हाईजम्प, लङ जम्प, दौड प्रतियोगिता, कबड्डी, भलिबल जस्ता खेलहरु समावेश गरिएका छन् । प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयलाई शिल्ड मेडल तथा प्रमाण पत्र वितरण गरिने छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार हाईजम्प, लङ जम्पको सेमीफाईनल सम्मका खेलहरु सम्पन्न भईसकेको महादेव जनता नमूना माविका सहायक प्रधानाध्यापक गिरीराज रानाले बताए ।
प्रतियोगिताको उद्घाटन सत्रका क्रममा सहभागि विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख हरिमाया घलान, प्रमुख अतिथी मेयर कमल बुढाथोकीले सहभागि विद्यार्थी तथा विद्यालयलहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, हरिवन ८ की वडा सदस्य एवम कार्यवाहक वडाअध्यक्ष सोनी गुर्मछान मगर , बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।