सोम दियाली, हरिवन ।।
फागुन २ गते ।। सर्लाहीको हरिवनमा पनि फागुन ११ गतेदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने भएको छ ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत यहाँ पनि गाउँगाउँमा पुगेर हात्तीपाईले रोग विरुद्धको औधषी खुवाउन लागिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभियानलाई सफल बनाउने उदेश्यले आज नगरपालिकाको सभाहलमा हात्तीपाईले रोग विरुद्धको आम औषधीबारे पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय एक दिने गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीका अवसरमा हात्तीपाईले रोग के हो ? यो रोग कसरी सर्छ ? यसको औषधीको प्रयोग कसरी गर्ने ? लगायतका विषयमा जानकारी गराइएको थियो ।
गोष्ठीको सहजीकरण गर्दै नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले अभियानका क्रममा दुई वर्ष मुनिका बच्चा, सात दिन नपुगेका गर्भवती महिला र सिकिस्त विरामी भएकाहरुबाहेक अन्यले औषधी खान सक्ने बताए । उनले हातीपाईले रोगको औषधीले कुनै हानी नगर्ने तर कोही कसैलाई सामान्य रियाक्सन गर्ने भएकोले त्यसबाट नडराउन आग्रह गरे । उनले औषधी सेवनका कारण कुनै समस्या परे सासापुर स्वास्थ्य चौकीसहित नगरका चार ओटै स्वास्थ्य चौकी तथा लिलावती हस्पिटल, नमूना हस्पिटल, सरस्वती हस्पिटल लगायतका हस्पिटलमा चेकजाँचको व्यवस्था मिलाईएको बताए ।
उनले हात्ती पाईले रोगको आहात्तीपाईले रोगबारे मानिसहरुमा अनेक खालका भ्रम रहेकोले त्यसलाई चिर्दै अभियान सफल बनाउन सहयोग गर्न आम सरोकारवालाहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै हरिवन नगरपालिकाका प्रमुख मेयर कमल बुढाथोकीले हात्तीपाईले रोगबाट बच्न सबैले अनिवार्य औषध खान आग्रह गरे । उनले हरिवनमा पनि एक जनामा हात्तीपाईले रोग देखिएको बताउँदै एक जनाका कारण पुरै नगरका नागरीक जोखिममा रहेकोले पनि सबैले अनिवार्य औषधी खानु पर्ने बताए ।
गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाका इन्चार्जसहितका स्वास्थ्यकर्मी, विभिन्न वडाका वडाअध्यक्षहरु, पत्रकारहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
हात्तीपाईले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा, अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरूवा रोग हो । मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ र यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । मानिसको शरीरमा यसको परीजीवी प्रबेश गरेको केही वर्ष पछि मात्रै यो रोगको लक्षण देखिने गर्दछ । यसको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन ।