भाइरल पोष्ट, लालबन्दी ।।
फागुन १ गते ।। भौगोलिक हिसावले नगरकै सबैभन्दा ठुलो वडा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ का स्थानीयले नगर प्रमुख (मेयर) वासुदेव अधिकारीलाई वडाको विकास निर्माणको अवस्थावारे अवगत गराएका छन् ।
मेयर अधिकारीको सचिवालयले सोही वडाको बोहोरे डाँडामा सोमवार(आज) आयोजना गरेको नगर स्तरीय वडा अनुगमन कार्यक्रममा स्थानीयले खेतीयोग्य जमिन भएर पनि किसानले सिंचाइ अभावमा घैया छरेर खाउ न भन्दा पनि हुने अवस्था नभएकाले सिंचाइको प्रवन्ध गरिदिन आग्रह गरेका छन् । उनीहरूले कृषि र सिंचाइ समस्यासँगै वडामा ९ वटा विद्यालय भएपनि विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले एक बिद्यालयलाई अर्को विद्यालसँग गाभिदिन आग्रह गरे ।
उनीहरूले निजी विद्यालयका कारण विद्यार्थी संख्या घटिरहेकाले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट गुणस्तरीय पठनपाठन सरू गरेर विद्यार्थी आकर्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम सहभागीहरुले वडामा आएको रासायनिक मल समानुपातिक ढंगले वितरण नभएकोले यसको व्यवस्थापन मिलाइदिन पनि नगरप्रमुखसँग आग्रह गरे । उनीहरूले भौगोलिक विकटताका कारण वृद्ध भत्ता लिन, आउँदा जाँदा धेरै खर्च हुने गरेकाले वडाबाटै वितरणको व्यवस्था मिलाइदिन आग्रह गरे ।
बाटो बिजुली, खानेपानी र तटबन्धको व्यवस्था गरिदिन मेयर अधिकारीसँग उनीहरूको आग्रह थियो । उनीहरूले वडाको आम्दानी खर्च पारदर्शी गर्न सार्वजनिक सुनुवाइको आवश्यकता औल्याए । टेलिफोनको लागि रूखमा चड्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा स्थानीयको जोड थियो ।
कार्यक्रममा बोल्दै मेयर अधिकारीले समग्र लालबन्दीको विकासको लागि चक्रपथको अवधारणा अनुसार बाटो निर्माण गरिने र नगर बस सञ्चालन गर्ने समेत योजना रहेको बताए ।
मेयर अधिकारीले लालबन्दी– दुम्जा जोड्ने बाटोको लागि पनि संघीय र प्रदेश सरकारसँग पहल गरिने बताए । परवानिपुरको विकासकामा कृषि क्याम्पस स्थापनाका लागि आफुले प्रस्ताव गरेको र काठमाडौं विश्वविद्यालयसंग समन्वय गरेर अघि बढ्न फागुन भित्रै यसको सम्भाव्यता अध्ययन थाल्ने बताए ।
विकास निर्माणका लागि दलगत राजनीति गर्न नहुने र आफू दलगत राजनीति भन्दा माथि उठेर काम गर्न प्रतिबद्ध रहेको मेयर अधिकारीले बताए । उनले नगरको चुरे क्षेत्र विकट कर्णाली जस्तै भएकाले आफुले यसलाई विशेष क्षेत्र घोषणा गरेर केन्द्रीय बजेट ल्याउन प्रयत्न गरिरहेको बताए । उनले लालबन्दीलाई नमुना नगर बनाउन आफुले प्रयत्न गर्ने बताए । मेयर अधिकारीले छलफलमा उठेको विषयलाई प्राथमिकतामा रखेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे ।
कार्यक्रममा वडाध्यक्ष गोरख बलले वडामै आएर समस्य बुझ्न कार्यक्रम राखेकोले आफुहरूलाई खुसि लागेको भन्दै मेयर अधिकारीलाई धन्यवाद ज्ञापन गरे । उनले स्थानीयले उठाएको विषयमा बोल्दै तटबन्धको प्रयास भइरहेको बताए । उनले लालबन्दी १५ हुँदै मरिण जोड्ने सडकको डिपिआर तयार भएको र यसको लागि ७० करोड लाग्ने देखिएको र काम हुने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष बलले वडालाई पर्यटकीय क्षेत्रको रूमा बिकास गर्न बीपी स्मृति पार्क र होमस्टेको लागि पहल गरिदन मेयर अधिकारीसँग आग्रह गरे । उनले सिरकालिन्जोरमा खानेपानीको समस्या भएकाले समाधानको लागि प्रयास भइरहेको बताए ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका शिक्षा, कृषि शाखाका प्रमुखहरूले स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीका स्वकीय सचिव भानुभक्त बरालले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।