भाइरल पोष्ट, लालबन्दी ।।
फागुन १ गते ।। विदेशमा बस्ने नेपालीहरुले त्यहाँ बसेर पैसा कमाएका मात्रै छैनन् आफूले कमाएको पैसामध्ये केही पैसा नेपालमा समाजसेवाको काममा समेत लगाएका छन् । यसै शिलशिलामा अमेरिका, स्वीडेन लगायतका देशमा बस्ने केही युवाहरुले पठाएको रकमबाट सर्लाहीमा न्यानो सिरक वितरण गरिएको छ ।
अमेरिका रहेका दिपक प्रसाइँ, स्वीडेन रहेका दिपराज थापा, अशोक बहादुुर खड्का, बिष्णुप्रसाद श्रेष्ठ, कृष्ण के.सी., गङ्गा घिमिरे, दिप शर्मा, सुवास अधिकारी, माधव तिमिल्सिना र अन्य नाम नखुलेका व्यक्तिहरुबाट प्राप्त ८० हजार रकमबाट लालबन्दी २ स्थित पद्म भुवनेश्वरी नमूना वृद्धाश्रममा ३५ थान सिरक र ३ बोरा चामल तथा हरिवनमा रहेको मानव सेवा आश्रम र द्वन्दपीडित बालगृहमा ३५ थान न्यानो सिरक वितरण गरिएको सहयोग समन्वयकर्ता प्रमेश बादेले जानकारी दिए ।
समन्वयकर्ता बादेका अनुसार विदेशमा रहेका नेपालीहरुबाट प्राप्त सहयोग सोमबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रहरी उपरिक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी तथा अनुसन्धान प्रहरी प्रमुख सन्तोष ढुंगेल, बागमती सेवा समाजका अध्यक्ष समाजसेवी भरत कुमार कार्की लगायतको उपस्थितिमा आश्रम र बालगृहमा आश्रितहरुलाई वितरण गरिएको छ ।
उक्त न्यानो सिरकको लागि प्रमुख जिल्ला अधिकारी यादवले पहल गरेका थिए भने विदेशमा रहेका नेपालीहरुसँग न्यानो सिरकको लागि प्रमेश बादेले समन्वय गरेका थिए र अन्य प्राविधिक समन्वयका लागि बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की र गजेन्द्र साहले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी यादव भन्छन्, ‘हामी केही दिन अघि यस आश्रममा आउदा वृद्धवृद्धा आमाबुवाहरुलाई सहयोग गर्ने केही सम्भावना थियो । आज न्यानो सिरक सहयोग गरिएको छ । र यस्तो सहयोग पु¥याउने हुने विदेशमा रहेका नेपालीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै सहयोगको लागि समन्वय गर्नुहुने प्रमेश बादेलाई पनि धन्यवाद दिन चाहन्छु र वृद्ध आमाबुवाबाट आर्शिवाद पाईरहौं । ’
आश्रममा आश्रित आमाबुवाले न्यानो सिरक पाएपछि आश्रमकी सञ्चालक भवानी कोईरालाले भनिन्,‘ यो जाडोको बेला वृद्धवृद्धा आमाबुवाहरुलाई न्यानो सिरक कसैले दिओस् जस्तो मनमा लागिरहेको थियो तर कसैलाई भनेको थिइन तर आज प्रमेश बादे र प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको पहलमा आश्रममा रहेका आमाबुबाले न्यानो सिरक पाए । म धेरै नै खुशी छु र विदेशमा रहेका सहयोगी मनहरुलाई धेरै धन्यवाद दिन चाहान्छु ।’