भाइरल पोष्ट, लालबन्दी ।।
फागुन १ गते ।। नेपाल विद्यार्थी संघ सर्लाहीका पूर्व जिल्ला सभापतिहरुले नेविसंघको केन्द्रीय समितिको निर्णयप्रति असन्तोष जनाएका छन् ।
संघको केन्द्रीय कार्यसमितिमा मनोनित सभापति दुजाङ शेर्पाले मनोमानी ढंगले जिल्लाहरुमा सभापति तोकी पत्रचार गरेको भन्दै पूर्वसभापतिहरुले प्रेस विज्ञप्ती जारी गर्दै असन्तोष प्रकट गरेका हुन् ।
मनोनित अध्यक्ष शेर्पाले तीन महिनाभित्र जिल्लाको अधिवेशन गर्ने समयसीमा राखि माघ १३ गते धिरज दाहा यादवलाई सर्लाहीको सभापति तोकी पठाएको थियो । सो निर्णय आफूहरुलाई चित्त नबुझेको भन्दै पूर्व जिल्ला सभापतिहरुले विज्ञप्ती मार्फत मनोनित केन्द्रीय अध्यक्षको निर्णय सच्याउन माग गरेका हुन् ।
पूर्व जिल्ला सभापतिहरु अशोक खनाल, नबीन अधिकारी, जगत नारायण राय, निरमुनि मैनाली, विमल ढुंगेल र राजु थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मनोनित सभापतीबाट विभिन्न जिल्लामा जिल्ला संयोजक (सभापती) तोकी पत्राचार गर्ने कार्य भैरहेको छ । यसै सिलसिलामा सर्लाही जिल्लामा समेत मनोमानी ढंगले संयोजक तोकी पठाउने कार्य भएकोले इतिहास र गरिमामा ठुलो चोट पुगेको र यसको मर्ममा निर्मम प्रहार भएको महसुश गरेका छौ ।’
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यस निर्णय प्रति नेविसंघ सर्लाहीको नेतृत्व गरिसकेको नाताले हाम्रो ध्यानाकर्षण हुनु स्वाभाविक र अनिवार्य ठानी यस निर्णय खारेज गरी सर्लाही जिल्लामै कृयाशील बिधार्थी हरुको भेला र आपसी छलफलबाट आएको बिधार्थी नेतालाई संयोजक तोकी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेविसंघ केन्द्रिय समिति, नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति र सरोकार राख्ने बिधार्थी समक्ष अनुरोध गर्दछौ ।’
उनीहरुले मनोमानी वा केहि सिमित व्यक्ति र स्वार्थ समुहको प्रभावमा परि गरिएको निर्णय सच्याएर अगाडी बढ्न अनुरोध गर्र्दै विधार्थीहरुको आम भेला बोलाउनका लागि पार्टी सभापती समक्ष आग्रह गरेका छन् । निर्णय न सच्याए आम बिधार्थीको दवाब र आवश्यकता अनुरुप अर्को पूर्ण कमिटि गठन समेतको अवस्था आउने तर्फ समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।