राज कुमार मुक्तान, गौशाला ।।
माघ २८ गते ।। नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गले आगामी बैशाखसम्ममा मधेश प्रदेशलाई पूर्ण विद्युतयुक्त प्रदेश बनाउने बताएका छन् ।
शनिबार महोत्तरीको गौशाला १२ मा बुद्ध समाज सेवा संस्थाले आयोजना गरेको सोनाम ल्होछार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक घिसिङ्गले नेपालमा करीब करीब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भईसकेको भन्दै आगामी एक दुई वर्षभित्र नेपाललाई नै पूर्ण विद्युतयुक्त देश बनाउने अभियानमा लागेको बताए ।
उनले आफू प्राधिकरणमा महानिर्देशक भएर आउनुपूर्व नेपालमा ६० प्रतिशत जनताले मात्रै विद्युतको उपभोग गरिरहेको बताए । महानिर्देशक घिसिङले भने, ‘शहरी क्षेत्रमा ६० प्रतिशत नागरीकले विद्युत उपभोग गरिरहेका थिए तर १८ घण्टाबढी लोडसेडिङ हुने गरेको थियो । बाँकी ४० प्रतिशतले विद्युत उपभोग गर्न पाएका थिएनन् किनकी ४० प्रतिशत स्थानमा विद्युतीकरण नै भएको थिएन ।’
उनले आफूहरुको अथक मेहनत र प्रयासका कारण प्राधिकरण नाफामा गएको बताए । उनले भने, ‘हिजो विद्युत प्राधिकरण वार्षिक ९÷१० अरब घाटामा थियो । तर विगत ५÷६ वर्ष यता विद्युत प्राधिकरण नाफामा आएको छ । ’ उनी अगाडि भन्छन्, प्राधिकरणले नाफामात्रै कमाएको छैन उपभोक्तालाई महसुलमा छुट पनि दिएको छ । हामीले २५ अरब भन्दाबढी महसुल छुट गरेका छौं ।’
उनले प्राधिकरणमा नाफाभएको रकम विद्युतीय प्रणालीको अपग्रेड तथा नयाँ विद्युतीकरणमा लगानी गरेको बताए । उनले नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने दिशामा आफूहरु अघि बढेको बताए । बर्खा याममा नेपालबाट अन्य देशमा विद्युत निर्यात गर्ने गरेको बताउँदै महानिर्देशक घिसिङले गएको वर्षमात्रै नेपालबाट ११ अर्वको विद्युत निर्यात गरिएको बताए । तर अहिले पनि हिउदमा विद्युत आयात गर्नुपरिरहेको अवस्था यथावत रहेको बताउँदै अबको केही वर्षपछि हिउँदमा समेत विद्युत निर्यात गर्न सक्ने गरी बाह्रैमास विद्युत निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने दिशामा काम भईरहेको उनले बताए ।
उनले कृषिको प्रवद्र्धनका लागि अब प्राधिकरणले कृषकहरु लागि खेत खेतमा विद्युतीकरणको व्यवस्था मिलाउने बताए । मल र सिंचाईको अभावमा पिल्सिएका किसानलाई खेतखेतमा गरिने विद्युतीकरणले कृषि उत्पादनमा सहयोग पुग्ने बताए ।
बुद्ध समाज सेवा संस्थाका अध्यक्ष विष्णु योन्जनको अध्यक्षतामा भएको ल्होछार विशेष कार्यक्रममा महानिर्देशकसहित नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, बागमती प्रदेशकी सांसद उर्मिला गोले, गौशाला नगरपालिकाका मेयर डा.दिपेन्द्र महतो लगायतको आतिथ्यता रहेको कार्यक्रमका सञ्चालक राजु लो तामाङले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार गायिका ईन्दिरा गोले, फुलकुमार बोम्जन, प्रमिला मोक्तानले सांगितिक प्रस्तुती दिएका थिए । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको कार्यक्रम सञ्चालक लो ले बताए ।
सो अवसरमा बुद्ध समाज सेवा संस्थाले महानिर्देशक घिसिङसहित विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान प्रत्रबाट सम्मान गरेको थियो ।