लालबन्दी, माघ २७ गते ।। जिल्लाकै व्यापारिक हब लालबन्दीमा भव्य र नयाँ व्यवस्थापनसहित एभरेष्ट होटल एण्ड फेमिली रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
यहाँका युवा व्यवसायी प्रमोद कुमार थपलियाले पुरानो नगरपालिका कार्यालय हालको ७ नम्बर वडा कार्यालयसँगैको भवनमा होटल सञ्चालनमा ल्याएका हुन् । होटलको शुक्रबार प्रदेशसभा सदस्यद्वय बेची लुंगेली र कौशल किशोर रायको उपस्थितिमा संविधानसभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् ।
त्यहाँ यस अघि विभिन्न नामले अन्य होटल सञ्चालनमा रहेको थियो । युवा व्यवसायी थपलियाले आफूले भव्य र नयाँ व्यवस्थापनसहित ग्राहकको चाहानाअनुसारको सुविधाहरु थप गरी रेष्टुरेण्ट शुरु गरेको बताए ।
आफूहरुले लालबन्दीलाई थप व्यवसायिक बनाउन ग्राहकहरुलाई पायक पर्ने र सुविधा सम्पन्न होटलको आवश्यकता पुरा गर्न नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा ल्याएको युवा व्यवसायी थपलियाले बताए । उनले होटलमा खानापिनासहित आरामदायि वास र दुईसय क्षमताको सुविधासम्पन्न सभाहल समेत रहेकोले विवाह पार्टी, सभा सेमिनार जस्ता कार्यक्रम समेत गर्न सकिने बताए । उनले होटलमा आवश्यक सम्पूर्ण प्रवन्ध भएकोले आन्तरीक तथा बाह्या यात्री तथा पर्यटकहरुलाई समेत सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, क्षेत्रीय सभापति हरि लुंगेली, माओवादी केन्द्रका नगर अध्यक्ष लेखराम जर्गा मगर, एमाले नेता गोविन्द महत, बुद्धिजीवी बलराम पोखरेल, काँग्रेस नेता विष्णुमणि घिमिरे, नारायण गुर्मछान, योगराज देवकोटा, होटल व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जन, लालबन्दीका विभिन्न वडाका वडाअध्यक्षहरु, होटल व्यवसायीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।