भाइरल पोष्ट, हरिवन ।।
माघ २५ गते ।। रक्तदान जीवनदान भन्ने नारासहित सर्लाहीको हरिवनमा झण्डै दुई दर्जन व्यक्तिहरुले रक्तदान गरेका छन् ।
हरिवन ११ स्थित डिएभी सुशिल केडिया विश्व भारती बोर्डिङ्ग स्कुल प्राङ्गणमा नेपाल रेडक्रस सोसाईटी मलंगवाको प्राविधिक सहयोगमा सोही स्कुलले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा हरिवनका अध्यक्ष समाजसेवी भरत कुमार कार्की, रेडियो सर्लाहीका मार्केटिङ मेनेजर राजु लो तामाङ, डिएभीका प्रिन्सीपल गुन्जलाल घलान, एनआईसी एसिया बैंक हरिवन शाखाका कर्मचारीसहित झण्डै दुई दर्जन व्यक्तिहरुले रक्तदान गरेका हुन् ।

रक्तदानपछि आफ्नो धारणा राख्दै समाजसेवी भरत कुमार कार्कीले रक्तदान गर्नु सबैभन्दा ठुलो मानवीय कार्य भएको बताए । उनले पछिल्लो समय नेपालमा सवारी दुर्घटना लगायतका कारण रगतको माग बढी भएकोले नेपाल रेडक्रस सोसाईटीले रक्तदानका कार्यक्रमहरुलाई तिब्रता दिएको बताए । उनले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न पनि सबैले रक्तदान गर्नु अपरिहार्य रहेको बताए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस युवा सर्कल हरिवनका अध्यक्ष ईश्वर धमला, सचिव भीम मगरसहित डिएभी जुनियर सर्कल, मनकामना जुनियर सर्कल, अर्किड जुनियर सर्कलमा आवद्ध विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।