राजु लो तामाङ, बागमती ।।
माघ २५ गते ।। जावलाखेल युथ क्लवले मधेश प्रदेशकै सबैभन्दा ठुलो पुरस्कार राशिको राजर्षि जनक कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
सर्लाहीको बागमतीमा बुधबारदेखि शुरु भएको सातौँ संस्करणको राजर्षि जनक कपको उद्घाटन खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरी बल काठमाडौंलाई १–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बुधबार दिउँसो बागमती स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा जावलाखेलका लागि खेलको ६३ औँ मिनेटमा विनोद केसीले शुरुवाती गोल गरेका हुन् । खेलको शुरुवातमा सशस्त्र प्रहरीले जावलाखेललाई दबाबमा राखे पनि दोस्रो हाफमा आक्रमक खेल प्रदर्शन गर्न सकेन ।
जावलाखेलका गोलकिपर अनिष देउला खेलको म्यान अफ दि म्याच घोषित भए भने उनले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार युनाइटेड किङडम दार्जलिङ र सुदूरपश्चिम–११ धनगढीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष किस्मत मैलालीले जानकारी दिएका छन् ।
खेलको उद्घाटन नेपाल सरकारका उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरे । खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सामाजिक एकता र राष्ट्रिय प्रतिष्ठा बढाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । प्रतियोगिताको उद्घाटन गर्न मन्त्री श्रेष्ठ हेलिकप्टर मार्फत सर्लाही आएका थिए । उनी सवार हेलिकप्टर खेल मैदानमै अवतरण गरिएको थियो ।