भाइरल पोष्ट,काठमाडौं ।।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ ।
ह्यारी केनको कीर्तिमानी गोलमा टोटनह्याम हले सिटीलाई पराजित गरेको हो । उपाधि होडमा रहेको सिटीको लिगमा यो चौथो हार हो। घरेलु स्टेडियममा १० खेलाडीमा सीमित टोटनह्याम १–० ले विजयी भयो । घरेलु टोलीलाई जिताउन ह्यारी केनले निर्णायक तथा कीर्तिमानी गोल गरे ।
खेलको १५ औँ मिनेटमा पियर मिएल हुइवर्गको पासमा डि–बक्स भित्रबाट केनले उत्कृष्ट फिनिस गरेका थिए। यो गोलसँगै केन टोटनह्यामका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको यो २ सय ६७ औँ गोल हो । केनले पूर्व खेलाडी जिम्मी ग्रेभ्सको कीर्तिमान तोडेका हुन् । २९ वर्षीय केनले १५ डिसेम्बर २०११ मा टोटनह्यामका लागि डेब्यु गोल गरेका थिए ।
अघिल्लो खेलमा फुलहमविरुद्धको जितमा पनि निर्णायक गोल गरेका केनले टिमको गोल संख्या २ सय ६६ बनाएका थिए। सन् १९६१ देखि १९७० सम्ममा जिम्मी ग्रेभ्सले यो कीर्तिमान राखेका थिए । केनले ५३ वर्ष पछि कीर्तिमान तोडेका हुन् । जितसँगै टोटनह्यामको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै छ । उसको २२ खेलमा ३९ अंक छ भने पाचौँ स्थानमा यथावत छ । पराजित सिटी भने शीर्ष स्थानको आर्सनलभन्दा ५ अंकले पछि परेको छ । सिटीको २१ खेलमा ४५ अंक छ । एक खेल कम खेलेको आर्सनल ५० अंकसहित शीर्ष स्थानमा छ । यस्तै गएराति नै भएको लिगको अर्को खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।