भाइरल पोष्ट,काठमाडौँ ।।
शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन् ।
चितवनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी रहेको छ ।