भाइरल पोष्ट, बागमती ।।
माघ १४ गते ।। नेपाल मगर संघ सर्लाहीको सातौं जिल्ला अधिवेशन शनिवार बागमती १ स्थित मगर गुम्बामा सम्पन्न भएको छ । अधिवेशनले भूतपुर्व सैनिक पूर्ण बहादुर राना मगरको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
संघका निर्वतमान अध्यक्ष तेज नारायण आले मगरको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १(ख)की प्रदेशसभा सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले रानाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको संघले जनाएको छ ।

नयाँ जिल्ला कार्यसमितिको चार जना उपाध्यक्षमा क्रमशः कोम बहादुर थापा, कृष्ण बहादुर सिंजाली र विश दंगाली र बेनी बहादुर बलम्पाकी(रमेश)लाई चयन गरेको छ । त्यस्तै नवगठित संघको सचिवमा हस्त बहदुर रेग्मी, सह–सचिवमा युवमाया राना मगर, कोषाध्यक्षमा सुनिता दंगाली मगरलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा खेमदेवी रानामगर, मुना आले, उत्तर बहादुर गुर्मछान, अम्बर बहादुर आले, अम्बर बहादुर गुर्मछान, शर्मिला रमौली मगर, सागर थापा, युवराज आले लगायतलाई चयन गरेको छ ।
नवगठित समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथी बेची लुंगेली तथा अन्य अतिथीहरुले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
मगरसंघको जिल्ला अध्यक्षमा आफूलाई चयन गरेकोमा सम्पूर्ण मगर समुदायप्रति कृतज्ञ रहेको नव अध्यक्ष पूर्ण बहादुर राना मगरले बताए । उनले आफू मगर समुदायको हक हितको लागि सदैव लडिरहने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी फागुन १५ गते हुने मगर दिवसलाई भव्य र सभ्य बनाउन आजकै दिनदेखि तयारीमा लाग्न सबै मगर समुदायलाई आव्हान समेत गरेका छन् ।
सर्लाहीमा विशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा मगर समुदायको बसोवास तथा बाहुल्यता रहेको छ । विस २०७८ को जनगणना अनुसार जिल्लामा मगरहरुको संख्या झण्डै ५६ हजार रहेको मगर संघ सर्लाहीले दाबी गरेको छ ।
जिल्लाको लालबन्दी, हरिवन, वागमती, बरहथवा, हरिपुर र ईश्वरपुर नगरपालिकामा मगरहरुको बसोवास रहेको छ । यहाँका मगर समुदायले पनि हरेक वर्ष माघे संक्रान्ती, मगर दिवस लगायतका पर्वहरु बडो हर्षोउल्लासका साथ मनाउने गरेका छन् ।