भाइरल पोष्ट, मलंगवा ।।
माघ १४ गते ।। सर्लाहीको विष्णु गाउँपालिकामा चिसो प्रभावित अत्ति विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।
नेपाल सरकार तथा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले शितलहर र चिसोबाट प्रभावित अति विपन्न, गरिब र दलित समुदायका मानिसहरुलाई फाइबर सिरक वितरण गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ल सुरक्षा निकाय तथा अन्य कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा न्यानो फाइबर सिरक प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।
फाइबर सिरक वितरण कार्यक्रममा विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, प्रमुख सेनानी अभिषेक कार्की, नेपाल प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख भरत खनियाँ, विष्णु गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटा, विष्णु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष विनोद कुमार यादव लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।