सर्लाही, माघ १४ गते ।।
नेपाल निजामती कर्मचारी संगठनले हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेमाथि भएकाे हातपात तथा दुर्ववहारकाे घट्नाप्रति अाफूहरुकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
संगठनका अध्यक्ष बैकुण्ठ सापकाेटाले शनिवार एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकी अधिकृत न्याैपानेलाई कार्यालय समयमै नगरपालिकाका वडा अध्यक्षहरुको जत्थाले गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरेकाे भन्दै अाफूहरुकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएका हुन् ।
“कार्यालय समयमा कार्यालयको कामकाजमा व्यस्त प्रमुख प्रशासकीय अधिकृतलाई जननिर्वाचित वडा अध्यक्षहरुबाट आफ्नो दायित्व निर्वाहमा सहयोग गर्ने तथा सुरक्षाको ग्यारेन्टी गर्नको सट्टा धाकधम्की देखाउने , वल जफती गर्ने , गाली बेइजति गर्ने जस्तो गैर मानवीय व्यवहारको हाम्रो संगठन घोर भत्सना गर्दछ ।”, विज्ञप्तीमा भनिएकाे छ ।
संगठनले साे घटनाको आवश्यक छानविन गरी दोषिलाई कानुन बमोजिम हदैसम्मको कानुनी कारवाही गरी राष्ट्रसेवक कर्मचारीको सुरक्षाको प्रत्याभूति हुने व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण सरोकारवालहरु हरिपुर्वा नगरपालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकाय प्रमुख , प्रमुख जिल्ला अधिकारीसँग जोडदार माग समेत गरेकाे छ।
संगठनले साे घटनालाई नजर अदाज गरिएमा कडा कदम चाल्न बाध्य हुने जानकारी सहित ध्यनाकषर्ण समेत गराएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत न्यापानेमाथि माघ १२ गते वडाअध्यक्षहरुले हातपात तथा अभद्र व्यवहार गरेका थिए । साे घटनाकाे विराेध गर्दै नगरपालिकाका कर्मचारीहरुले पनि नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउदै नगरपालिकाे कामकाज ठप्प पारेका छन् ।