सोम दियाली, बरहथवा ।।
माघ ११ गते ।। रक्षामन्त्री हरि उप्रेतीले काठमाण्डौ तराई जोड्ने फास्ट ट्रयाक आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत मूर्तिया महोत्सवको उद्घाटन गर्न गृहजिल्ला सर्लाही आईपुग्नुभएका मन्त्री उप्रेतीले आफू मन्त्री भएदेखि नै फास्ट ट्रयाकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो ।
बुधबार विहानै फास्ट ट्रयाककै निरीक्षण गरेर आफू सर्लाही आएको बताउनुहुँदै उहाँले फास्ट ट्रयाक बनेपछि दुई घण्टामै सर्लाही काठमाण्डौं गर्न सकिने बताउनुभयो । उहाँले फास्ट ट्रयाक बनेपछि जिल्लाका उत्पादनहरुलाई काठमाण्डौंमै लगेर तुरुन्त विक्री गरेर फर्कन सकिने बताउनुभयो ।

उहाँले जिल्लालाई संघीय राजधानीसँग जोडने फास्टट्रयाक अन्तर्गतको मुडेबाट बागमतीसम्मको दुरी १४ किलोमिटर मात्र रहेकाले त्यसको लागि बैकल्पिक सडक निर्माणको अध्ययन थाल्न आफुले पहलकदमी लिने बताउनुभयो । द्रुत मागर्ग निर्माणले समग्र देश र मधेसको बिकासमा ठुलो टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आफू संविधानसभा सदस्य भएकै समयमा बागमतीमा पुल हाल्न पहलकदमी गरेको बताउनुहुँदै उहाँले मूर्तियालाई औधोगिक क्षेत्रको रूपमा बिकास गर्न, लखनदेही खोलामा पुल निर्माण गर्न प्रयासरत रहेको बताउनुभयो । उहाँले बरहथवा नगरपालिकालाई नमूना नगरपालिका बनाउन समेत पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले नवनियुक्त रक्षामन्त्री उप्रेतीलाई बधाई ज्ञापन गर्नुहुँदै मुक्तेश्वर मन्दिर ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बरहथवा नगरभित्रको ऐतिहासिक धरोहरको बिकाशको लागि डिपिआर अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सव तीन दिनसम्म चल्ने र महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य एवम् बरहथवा नगरपालिका –९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई महोत्सव आयोनक समितिले सम्मान गरेको थियो ।