भाइरल पोष्ट, हरिवन ।।
माघ ८ गते ।। नेकपा माओवादी केन्द्रकी नेतृ माया बलको हटअट्याक(मुटुरोग) का कारण निधन भएको छ ।
अल्जाईमरका कारण झण्डै दुई साता अघि काठमाण्डौस्थित केएमसी हस्पिटल भर्ना हुनु भएकी बलको उपचारकै क्रममा ५२ वर्षको उमेरमा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँ केही वर्ष यता क्यान्सर रोगबाट पीडित हुनुहुन्थयो । आयुर्वेदीक उपचारपश्चात क्यान्सरलाई पनि उहाँले लगभग जितिसक्नुभएको थियो तर अल्जाईमरलाई भने उहाँले जित्न नसक्दा मृत्युलाई स्वीकार्न बाध्य हुनुभयो ।
उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । दशवर्षे जनयुद्ध सफल बनाउन सशक्त कमाण्डारको रुपमा भूमिका निर्वाह गर्नुभएका बल हरिवन ९ नयाँरोडमा आफ्नो श्रीमान र छोराछोरीको साथमा बस्दै आउनुभएको थियो ।
उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको हरिवन नगरपालिकाका मेयर समेत रहनुभएका माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले बताउनुभयो । ‘माया जी अत्यन्तै ईमान्दार नेतृ हुनुहुन्थयो । जनयुद्ध कालदेखि नै पार्टीमा आवद्ध रहेर काम गर्नुभएका उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माले शान्ति पाओस् भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’, जिल्ला संयोजक बुढाथोकीले बताउनुभयो ।
उहाँको निधनले आफू पनि स्तब्ध भएको नेकपा एमालेका नेता पूर्व पत्रकार चुडामणि वाग्लेले बताउनुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुहुँदै नेता वाग्लेले भन्नुभएको छ, ‘त्यतिबेला म पत्रकारिता गर्थे, मायाजी माओबादी जनयुद्धको कमाण्डर । पेशागत सन्दर्भले समय–समयमा भेट भई रहन्थ्यो, त्यहाँका काम–कार्वाहीमा अन्य पुरुष कमाण्डरहरु आक्रामक देखिँदा पनि उहाँको भुमिका शालीन, बिबेकी, नरम र सहयोगी देखिन्थ्यो । उहाँलाई देखे पछि हामीलाई नि ढुक्क लाग्ने ! गतबर्ष उहाँ बिरामी भएको बेला भेट्न जाँदा ‘जनयुद्धको सफलतामा तपाईंहरुको भूमिका कहिलै बिर्सन्न’ भन्दै हुनुहुन्थ्यो ।’
उहाँ अगाडि लेख्नुहुन्छ,‘गत संसदीय निर्वाचनमा समानुपातिक मत गणनास्थलमा पनि उहाले नै पुरानो स्मरणका कुरा कोट्याउनु भएको झलझल याद आईरहेको छ । क. माया हामी बिच रहनु भएन तर उहाका योगदान र स्मरण सदा ताजा रहनेछ्न । भावपूर्ण श्रद्धाञ्जली कमरेड !’
गएको निर्वाचनमा माओवादी केन्द्रको समानुपातिक उमेदवार बन्नुभएकी बलको जन्म भने २०२७ सालमा काभ्रेमा भएको थियो । उहाँका एक श्रीमान, एक छोरा र तीन छोरीहरु हुनुहुन्छ । छोरीहरुको विवाह भईसकेको छ भने छोरा अस्ट्रेलिया बस्नु हुन्छ ।
उहाँको शव अहिले केएमसी अस्पतालमै राखिएको छ । उहाँका एकमात्र छोरा अस्ट्रेलियाबाट आउने र शव पनि सँगै सर्लाही ल्याउने तयारी भईरहेको मृतकका देवरले बताउनुभयो । उहाँको शव ल्याउने विषयमा सरसल्लाह भइरहेकोले शव ल्याईसकेपछि मात्रै अन्तिम दाहसंस्कार गरिने उहाँले बताउनुभयो ।