राजु तामाङ, हरिवन
तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार (नयाँ वर्ष) मा हरिवन नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिने भएको छ ।
माघ ५ गते अर्थात बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले सोनाम ल्होछार २८५९ को अवसरमा नगरभित्र दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ ।
आदिवासीहरुको मुख्य पर्वहरुमा दिईने गरेको सार्वजनिक विदा केही वर्ष अगाडी संघीय सरकारले कटौती गरेको थियो । तर देश संघीयतामा गएपछि स्थानीय सरकारले आफ्नो पालिकाभित्र बसोबास गर्ने समुदायको साँस्कृतिक पर्वहरुमा कार्यपालिकाले नै निर्णय गरी विदा दिने अधिकार भएको हुँदा ल्होछारको विदा दिइएको नगरपालिकाले जनाएको छ ।
केन्द्रीय सरकारले विदा कटौती गरेको भन्दै विभिन्न स्थानीय पालिकाहरुमा विगतका वर्षहरु देखि नेपाल तामाङ घेदुङले सार्वजनिक विदाको माघ गर्दै ज्ञापनपत्र बुझाउँदै आइरहेको थियो । जस अनुसार हरिवनमा पनि पूर्व मेयर गणेश प्रसाईले ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय सकेका थिए । सोही निर्णयको कार्यन्वयन होस भनी यो पटक भने घेदुङले कुनै पत्र नबुझाएको हरिवन घेदुङले बताएको छ ।
यसरी नगरपालिकाले निर्णयको पालना गरि सार्वजनिक विदा दिइएकोमा हरिवन नगर घेदुङ अध्यक्ष राजु लोले पालिकालाई धन्यबाद ज्ञापन गरेका छन् । त्यस्तै जिल्लाको तामाङ्ग बाहुल्यता रहेको लालबन्दी र बागमती नगरपालिकाले पनि ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको ती नगरपालिकाहरुले जनाएका छन् ।
यो वर्ष तामाङ समुदायले बाघ वर्गलाई बिदाई गरी बिरालो वर्गलाई स्वागत गर्दै २८५९(ह्योयी) तावर ल्हो सोनाम ल्होछार हर्षोउल्लासका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छ ।
तामाङ्ग भाषामा ल्हो भनेको वर्ष हो भने छार भनेको नयाँ हो । यसरी ल्होछारको अर्थ नयाँ वर्ष हुन आउँछ । हामीले बैशाख १ गते नयाँ वर्ष मनाए झैं तामाङ समुदायले ल्होछारको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । ल्होछारमा उनीहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्नुका साथै सिजन अनुसारका तामाङ परिकारहरु बनाएर खाने गर्दछन् । त्यसैगरी तामाङ भेषभूषामा सजिएर गाउँवस्तीहरुमा रमाईलो समेत गर्ने गर्दछन् ।