भाइरल पोष्ट, काठमाण्डौं ।।
माघ ३ गते ।। प्रचण्ड नेतृत्वको सरकारको रक्षामन्त्रीमा सर्लाहीका सांसद हरि उप्रेती नियुक्त भएका छन् ।
मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा एमाले नेता एवम् सर्लाही क्षेत्र नम्बर ३ बाट दोश्रो पटक सांसद निर्वाचित उप्रेती रक्षामन्त्री भएका हुन् । उनलाई मंगलवारै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाई सकेकी छन् ।
बरहथवा नगरपालिकाको पिप्राभित्ता निवासी उप्रेती मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निस्कलंक र स्वच्छ छवि भएका नेताको पहिचान बनाएका सांसद उप्रेतीले मंसीर ४ गते भएको चुनावमा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७ सय ७० मत अन्तरले पराजित गरेका थिए । उप्रेतीले ३२ हजार ९३८ मतसहित विजयी भएका थिए भने साहले ३२ हजार १६८ मत प्राप्त गरी दोश्रो भएका थिए ।
उप्रेती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि सर्लाही क्षेत्र नं. ३ बाट नै निर्वाचित भएका थिए । एमालेले २ पटक सांसद भइसकेकालाई मन्त्रीमा प्राथमिकता दिँदा प्रचण्ड सरकारमा उप्रेती रक्षामन्त्रीमा नियुक्त हुन सफल भएका हुन् । उनी मन्त्री भएपछि यतिबेला उनलाई बधाई दिनेको लर्को लागेको छ । उनका शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता र सर्लाहीवासीहरुले उनलाई सामाजिक सञ्चाल मार्फत धमाधम बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् ।
स्रोतका अनुसार उप्रेती सामान्य ‘लबिङ’ मै मन्त्री बनेका छन् । यसअघि आफ्ना सांसदलाई मन्त्री बनाउन जिल्लाका नेताहरु शिर्षस्थ नेताहरु कहाँ ‘डेलिगेसन’ नै जाने गर्दथे । उप्रेती नजिकका नेताहरुका अनुसार उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले रुचाएर मन्त्रीमा चयन भएका हुन् । उप्रेती नेकपा एमालेको मधेश प्रदेश कमिटीका सदस्य हुन् ।
२०६४ पछि हरेक सरकारमा सर्लाहीका कोही न कोही सांसद मन्त्री रहँदै आएका छन् ।