भाइरल पोष्ट, हरिपुर ।।
माघ २ गते ।। सर्लाहीको हरिपुरमा पाँचौ तिला संक्रान्त (माघी) महोत्सव सुरु भएको छ । थारु कला संस्कृति आयोजना समिति हरिपुर–७ पचगछीयाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको सह–आयोजनामा तीन दिने महोत्सव आजबाट सुरु भएको हो ।
महोत्सवको सहयोगीमा सनराईज युवा क्लब, थारु कल्याणकारी गाउँ एकाई कमिटी हरिपुर र हरिपुर नगरपालिकाको कार्यालय रहेको छ । माघ ४ गते सम्म चल्ने महोत्सवको संविधानसभा सदस्य रामचन्द्र चौधरीले पानसमा दिप प्रज्वलन गरी, सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद रामप्रकाश चौधरीले व्यानर अनवारण गरी तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले थारु संस्कृति झल्कने स्टलको रिवन काटेर समुदघाटन गरी गर्नुभएको थियो ।
महोत्सवको उद्घाटनपछि कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले महोत्सवमा प्रदर्शनमा राखिएका थारु संस्कृति झल्कने स्टलहरुकोअवलोकन गरेका थिए ।
अवलोकनपछि कार्यक्रमका विशिष्ट अतिथी प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरीले परम्परागत सामाग्रीहरु अहिलेको नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यले प्रदर्शनमा राखिएकोले महोत्सवको गरिमा बढेको बताए ।
त्यस्तै महोत्सवको सह आयोजक समेत रहेको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ताले महोत्सवको अवलोकन गर्दै विभिन्न मेला महोत्सवमा उद्यमीहरुको प्रोत्साहन गर्ने उदेश्य घरेलु तथा साना उद्योग कार्यालयको रहेको बताए ।
‘नेपालके आदिवासी जनजातिके शान, थारु कला संस्कृति हमर पहिचान’ भन्ने मुल नाराका साथ थारु जातिको नयाँ वर्ष थारु सम्वत २६४७ को अवसरमा आयोजित तीन दिने महोत्सव सुरु हुनु पूर्व टोलटोलबाट भेला भएका बच्चादेखि वृद्धसम्मका थारु समुदायका मानिसहरुले थारु भेषभूषामा सजिएर नगर परिक्रमा गरेका थिए ।
आयोजकका अनुसार महोत्सवमा थारु संस्कृति झल्कने नृत्य प्रतियोगिता तथा डोले प्रतियोगिता पनि हुनेछ ।
थारु सांस्कृतिक प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २० हजार, द्वितिय हुने समुहलाई नगद १५ हजार र तृतीय हुने समुहलाई नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा थारु संस्कृति झल्कने विभिन्न परिकारहरुको प्रदर्शनी र विभिन्न उद्यमीहरु आफैले निर्माण तथा उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी स्टल समेत राखिएको छ ।
थारु कला संस्कृति आयोजना समितिका अध्यक्ष अरविन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, हरिपुरका विभिन्न वडाका वडाअध्यक्षहरु, थारु अगुवा तथा वुद्धिजीवीहरु, थारु कलाकारहरु, पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।