भाइरल पोष्ट, हरिवन ।।
पौष २९ गते ।। ३०औं नारायण उप्रेती स्मृति दिवस शुक्रबार हरिवनमा धुमधाम मनाइएको छ । नारायण स्मृती प्रतिष्ठानको आयोजना तथा हरिवन नगरपालिकाको व्यवस्थापनमा विभिन्न कार्यक्रम गरी स्मृती दिवस मनाइएको हो ।
दिवसका अवसरमा श्रद्धाञ्जली सभा र विद्यार्थी पुरस्कार वितरण गरिएको छ । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका योद्धा उप्रेती ०४८ सालमा नेकपा एमालेका तर्फबाट तत्कालीन हरिवन गाविसको अध्यक्ष चुनिएका थिए । तर यसको एक वर्ष नपुग्दै ०४९ पुस २९ गते २७ वर्षकै उमेरमा उनको निधन भएको थियो । उहाँका जन्म भने २०२२ सालमा भएको थियो ।
किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा क्रियाशील उप्रेती पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा प्रहरीले दिएको यातनाका कारण गम्भीर घाइते भएका थिए । घाइते अवस्थामै उनी हरिवन गाविसको अध्यक्ष बनेका थिए । दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वर्गीय उप्रेतीकी आमा टीकालक्ष्मी उप्रेतीकोसमेत सहभागिता थियो ।
दिवसमा अवसरमा प्रतिष्ठानले आयोजना गरेको नारायण उप्रेती र राजनीतिमा नयाँ पुस्ता विषयक निबन्ध प्रतियोगितामा सहभागी विद्यार्थीसँगै हरिवन नगरपालिका भरीका सामुदायिक विद्यालयबाट एसईई, कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
विद्यार्थीमा सामाजिक उत्तरदायित्व तथा राजनीतिक चेतको विकास गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका सदस्यसमेत रहेका प्रतियोगिताका संयोजक चूडामणि वाग्लेले जानकारी दिए ।
हरिवन नगरपालिका वडा नं. ११ मा आयोजित कार्यक्रममा सहभागीहरुले पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा उप्रेतीले पु¥याएको योगदान र उनको व्यक्तित्वमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी सदस्य सरस्वती सुब्बा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता डिल्लीप्रसाद उप्रेती, प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय उप्रेतीका दाजु राजकुमार उप्रेती, हरिवन नगरपालिकाकी पूर्व उपमेयर रेणुका पौडेल, पूर्व शिक्षक वासुदेव निरौलालगायतले उप्रेतीले सर्लाहीको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा सहभागीहरुले उप्रेतीको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
समाज परिवर्तनमा स्वर्गिय उप्रेतीले पु¥याउनु भएको योगदानको सम्मान स्वरुप उहाँलाई सहिद घोषणा गर्ने प्रयासमा आफूहरु रहेको प्रतिष्ठानले जनाएको छ ।