भाइरल पोष्ट, हरिवन ।।
पौष २३ गते ।। सर्लाहीको हरिवन ८ स्थित चुरे जनता आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय पोशाक तथा विद्यालय झोला वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक उप्रेतीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययरत सबै विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा विद्यालय झोला वितरण गरिएको हो ।
विद्यालयमा भर्ना भएका ६२ जना विद्यार्थीमध्ये नियमित विद्यालय आउने ४५ जना विद्यार्थीहरुलाई एकुन सरो सर्ट, पाईन्ट, जुत्ता, मोजा र एक एक थान व्याग वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक उप्रेतीले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई दिन भनेर हरिवनमै रहेको बागमती सेवा समाज नेपालले विद्यालयको लागि ५० थान विद्यालय झोला, कपी र पेन्सिल उपलब्ध गराएको थियो ।
विद्यालय पोशाक र झोला पाएपछि बालबालिका र तिनका अभिभावकहरु खुशि भएका छन् । पोशाक तथा झोला वितरण कार्यक्रममा नगर उपप्रमुख हरिमाया घलान विशिष्ट अतिथी हुनुहुन्थ्यो । त्यसैगरी वडा नम्बर ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना, विद्यालय संस्थापक केशव ढकाल, रामभक्त प्रधान, हरिवन नगर कार्यपालिका सदस्य धनमाया बिक, वडा नम्बर ८ का वडासदस्यहरु क्रमशः सोनि कुमारी, उत्तम राई, ढकनाथ सपकोटा, समाजसेवी भरत कुमार कार्की,चुडामणि वाग्ले, कुमार लुईटेल, अविन थापा लगायतको आतिथ्यता रहेको थियो ।
२०४२ सालमा समाजसेवीहरु केशव ढकाल, नवराज भट्टराई, मुकुन्द श्रेष्ठ, टोपराज लुईटेल, रामभक्त प्रधानलगायतको सक्रियतामा स्थापना भएको सो विद्यालयमा गतएको मंसीर २६ गते नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चयन भएसँगै नयाँ अध्यक्ष दिपक उप्रेतीले सो विद्यालयको शैक्षिक गुणस्तरमा आमूल सुधार गर्ने उदेश्यसहित विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिई रहनुभएको छ । सोही कार्यक्रम अन्तर्गत सुरुमा विद्यार्थीहरुलाई विद्यालय पोशाक र झोला वितरण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार विद्यालयले आगामी शैक्षिक सत्रबाट मण्टेश्वरी देखि कक्षा ५ सम्म नै अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने तयारी गरिरहेको छ । जसका लागि दुई जना स्वयमसेवक शिक्षकको नियुक्ती गर्ने तयारी भइरहेको छ । त्यस्तै विद्यालय हाताभित्र ब्लक विछ्याउने कार्य र अन्य भौतिक तथा शैक्षिक सुधारका लागि नगरपालिकासँग आग्रह गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
उहाँले जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालय सुधारमा समुदाय नै लाग्नु पर्ने भन्दै आफू विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तर्फ अग्रसर भएको बताउनुभयो । उहाँले आफ्नो योजनामा सहयोग गर्न र साथ दिन पनि तमाम अभिभावक र सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थीका लागि झोला, कपि र पेन्सिल उपलब्ध गराउनुहुने बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की विशेषसहित शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिनुभयो ।