विकास बुढाथोकी, लालबन्दी ।।
पौष २१ गते ।। सर्लाहीको लालबन्दीमा माछा व्यापारीले उपभोक्तालाई व्यापक ठगि गरिरहेको प्रमाण फेला परेको छ ।
माछा किन्न आउने उपभोक्तालाई व्यापारीहरुले तौलमा ठगि गरिरहेको भेटिएको हो । तपाईलाई हेर्दा र सुन्दा अचम्म लाग्न सक्छ । उपभोक्ताले पत्तै नपाउने गरी उनीहरुले तौलमा ठगि गर्ने गरेका रहेछन् । जस्तो कि यो भिडियोमा देख्न सक्नु हुन्छ कि उनीहरुले १०÷१५ ओटाभन्दा बढी पोलिथिन खप्ट्याएर झोला बनाउने र माछालाई त्यही झोला भित्र राखेर जोख्ने गर्दा रहेछन् । त्यसरी तयार गरिएको झोलाको तौल झण्डै २५० ग्रामभन्दा माथि नै रहेको पाईएको छ । झोलामा थप केही अंश पानी पनि हुने गरेको छ । जसले झोलाको तौल थप बढाउन मदत गर्छ । यसरी व्यापारीहरुले एक किलो माछामा ३०० ग्रामभन्दाबढी नै ठगि गर्ने गरेको प्रमाण हाम्रो टिमले फेला पारी तपाईहरु समक्ष प्रस्तुत गरेका छौं ।
हामीलाई माछा व्यापारीले ठगि गर्ने गरेको सूचना आएपछि हामी माछा बजार पुग्यौं । जुन जुन व्यापारीले ठगि गर्छन् भनेर हामीलाई देखाईयो त्यहाँ महिला व्यापारी थिए । महिलाले ठगि गर्लान् भन्ने हामीले विश्वास गरेका थिएनौं तर वास्तविकता त्यही रहेछ । उनीहरु नै ठगि गर्नमा माहिर रहेछन् ।
लालबन्दी नगरपालिका वडा १६ का अर्जुन भण्डारीले आफू एक पटक होईन पटक पटक तौलमा ठगिएको बताउँछन् । उनले आफू तौलमा ठगिएको थाहा पाएपछि उनीहरुलाई सही तौल दिन र उपभोक्तालाई त्यसरी नठग्न पटक पटक आग्रह गरेको तर उनीहरुले सुनुवाई नै नगरी ठगिको धन्दालाई निरन्तरता दिएको पाएपछि मिडिया गुहार्न बाध्य भएका बताए ।
लालबन्दीमा प्रत्येक सोमबार र विहिवार बजार लाग्ने गरेको छ । हप्तामा दुई दिन लाग्ने बजारमा सर्लाहीका विभिन्न स्थानहरुसहित छिमेकी जिल्ला महोत्तरीका माछा व्यापारीहरुले यहाँ माछा बेच्ने गरेका छन् । उनीहरुले यसरी मात्रै नभई ढक र काँटामा समेत ठगि गर्ने गरिएको प्रस्ट बुझन सकिन्छ । यहाँका अधिकांश व्यापारीहरुले दुईसय तीन ग्रामको ढक भन्दै साना साना ढुंगाहरु ढकको रुपमा प्रयोग गर्ने गरेका छन् ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । माछा बाहेक अन्य उपभोग्य बस्तुमा समेत यहाँका उपभोक्ता ठगिएका छैनन् भन्ने छैन । यसरी दिन दिनै उपभोक्ता ठगिदा पनि यहाँका बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, वडा कार्यालय, नगरपालिकाको ध्यान गएको देखिँदैन ।