सोम दियाली, परवानीपुर ।।
पौष २० गते ।। सुगम जिल्लाको दुर्गम भेग भनेर चिनिने सर्लाहीको शिरकालिन्जोरमा बिजुली बत्ती पुगेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ शिरकालिन्जोर (साविक परवानीपुर गाविस वडा नम्बर २ को माथिल्लो भेग) मा बिजुली बत्ती पुगेपछि बर्षौदेखि टुकी बत्तीको साहारामा रात काट्दै आएका स्थानीय हर्षित भएका छन् ।
बिजुली बत्ती नहुँदा उध्याँरो त छँदै थियो । सामान्यतया मोवाईल चार्ज गर्न, टिभी हेर्न लगायतका विजुलीबाट हुने काम गर्न स्थानीयलाई समस्या थियो । चुरे क्षेत्रमा वसोवास गर्ने उनीहरुमा अन्नबाली लगाउन वर्षा कुर्नुको बिकल्प थिएन । वस्तिको तल्लो भागभएर कालिन्जोर नदी बग्ने भए पनि त्याहाँको पानीको लाभ उनीहरुले बिजुली बत्ती नभएकै कारण लिन सकेका थिएनन् । जसको कारण उनीहरुलाई विहान बेलुकिको छाक कसरी टार्ने भन्ने सम्मको चिन्ता थियो । बिजुली बत्ती बलेसंगै आफ्ना खेत बारीमा अन्न उत्पाद हुने र दुई छाक टार्न सजिलो हुने उनीहरुको विश्वास छ । “अव हामि खोलाको पानी पम्पिङ गरेर खेती गछौ,“एक स्थानीयले भने’ ।
लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले बुधावार(आज) नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर त्यहाँ विद्युत सेवा शुभारम्भ गरेका हुन् ।
आफ्नो गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन् । हर्षित स्थानीयले मेयर अधिकारी, वितरण केन्द्र प्रमुख साह र वडाध्यक्ष गोरख बललाई खादा, अविर र माला लगाएर स्वागत गरेका छन् । विद्युत् विस्तारपछि आफुहरूको दैनिकीमा सहजता आएको स्थानीयले बताएका छन् । विद्युत् विस्तारपछि आफ्नो वडाका झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएको वडाध्यक्ष बलले बताए ।
गत आर्थिक वर्षको प्रारम्भ देखिनै विद्युत् विस्तार थालिएको वडाध्यक्ष बलले बताए । वडामा ५ वटा २० केभीको ट्रान्सर्फमर जडान गरिएको छ । भौगोलिक विकटताको कारण वडाका सवै क्षेत्रमा अझै पनि विद्युत विस्तार हुन सकेको छैन । अझै पनि बाहुनी डाडा, फलाके, बादमारा, धापखर्क, माझखोला क्षेत्रमा विद्युत् विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले बताए ।
लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले राज्यले मधेशका जिल्लामा पनि भौगोलिक बिकटता छ भन्ने बुझनु पर्ने बताए । उनले लालबन्दी जिल्लाकै आर्थिक केन्द्र भए पनि भौगोलिक बिकटका कारण सोचेजस्तो बिकास हुन नसकेको बताए । राज्यले यस्ता क्षेत्रको पहिचान गरि भौतिक पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए । मेयर अधिकारीले अवसर र चुनौतीको मिलेर सामना गर्न विद्युत् प्राधिकरण र सरोकारवाला निकायलाई आग्रह गरे ।
लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बिकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्याहाँ पुग्नै झण्डै २ घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने चिन्ता लाग्ने गरेको बताए । उनले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए ।
लालबन्दी नगरपालिकाको वडा नं.१५ जिल्लाको विकट चुरे क्षेत्र हो । यहाँ हिउँदमा मात्र खोलाको बाटो भएर यातायातका साधनहरू चल्ने गर्छन् । सडक पूर्वाधारको बिकास हुन नसक्दा यहाँ नागरिक आर्थिक दृषिकोणले पछि परेका छन्,भने कयौं नागरिकले समयमै उपचार पाउन नसकेकैकारण अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।