वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको बताएका छन् ।
स्थानीय एक सञ्चारसंस्थालाई अन्तर्वार्ता दिँदै वीरगञ्जका मेयर सरावगीले वीरगञ्ज महानगर बन्न लायक नभएको बताएका हुन् ।
सरावगीका अनुसार राजनीतिक कारणले अन्तिम अवस्थामा निर्वाचनको मुखमा महानगरपालिका घोषणा गरिएको वीरगञ्जसँग महानगर बन्ने २० प्रतिशत पनि गुण छैन । “वीरगञ्जलाई एकदमै राजनीतिक कारणले अन्तिम अन्तिम अवस्थामा जब चुनाव हुने वाला थियो पहिलो । त्यसमा यसलाई महानगरपालिका घोषणा गरियो । र यदि स्थानीय सरकार सञ्चालन ऐन पढ्ने हो भने महानगरपालिकाको स्पेसिफिकेसन (विशिष्टता) मा वीरगञ्ज २० प्रतिशत पनि छैन आजको दिनमा”, अन्तर्वातामा सरावगीले भनेका छन् ।
साँढे ४ वर्षसम्म वीरगञ्जको मेयरका रुपमा कार्यकाल सम्हाली सकेका सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको भन्नु आफैमा लज्जास्पद कुरा भएको र नैतिकताको आधारमा उनले राजनीमा दिनुपर्ने जसपाका नेता सुरज गुप्ता बताउँछन् । “महानगर बन्ने गुण छैन भन्ने अनि मेयर बनेर सबै सेवा सुविधा लिने ? मेयर साबको यो दोहोरो चरित्र भएन ? त्यस्तो हो भने नैतिकताको आधारमा उनले राजिनामा दिनुपर्छ”, गुप्ताले भने ।
सरावगीले वीरगञ्जसँग महानगर बन्ने गुण नभएको बताएपनि यहाँका जनतासँग महानगरपालिका सरह कर असुली गर्ने गरेका छन् । मेयरमा निर्वाचित भएर आएपश्चात सरावगीले यहाँ ५ सय प्रतिशतसम्म कर वृद्धी गरेको स्थानीय व्यवसायीहरुको आरोप छ ।
“पहिला हामी जहाँ ५ हजार रुपैयाँ वर्षेनी कर तिथ्र्यौँ, आज विजय सरावगी मेयर भएर आएपछि २५ हजार रुपैयाँ तिर्नु परेको छ । सेवा सुविधा केही छैन । कर बढाएर जनतालाई दुःख दिने काम मात्र भएको छ”, स्थानीय व्यवसायी हिरालाल शर्माले भने, “कर बढाउने अनि वीरगञ्ज महानगरपालिका लायक छैन भन्ने मेयर सरावगीलाई लाज लाग्नुपर्ने हो ।”