सोम दियाली, सर्लाही
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मधेशको मसिहा भन्नेहरु नै नक्कली र मशेध विकासको बाधक भएको बताएका छन् ।
नेकपा एमाले सर्लाहीले शनिबार सदरमुकाम मलंगवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मधेश विरोधी भनेर भ्रम फैलाउने र आफूलाई मधेशका मसिहा ठान्नेहरु नै मधेश विरोधी र मधेश विकासको बाधक भएको बताएका हुन् ।
‘एमालेलाई मधेश विरोधी पार्टी भनेर भ्रम फैलाई रहेका छन् । जसले भ्रम फैलाउँदैछन्, उनीहरु नै मधेश विरोधी हुन्, मधेश विकासको बाधक हुन् ।’ अध्यक्ष ओलीले भने, ‘आफूलाई मधेशका मसिहा ठान्ने मधेश केन्द्रीत दलहरु नक्कली मुक्तिदाता हुन् । अब मधेशका जनताले उनीहरुको नक्कली रुप थाहा पाई सकेका छन् ।’ उनले मधेश केन्द्रित दलहरुले मधेश र मधेशीलाई धोका दिएकै कारण पूरै मधेशी जनताले एमालेलाई विश्वास गरेको बताए ।
आफू नेतृत्वको सरकारले नै मधेशमा रेल कुदाउने सपना पूरा गरेको बताउँदै अध्यक्ष ओलीले २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक समेत आफू नेतृत्वको सरकारले नै बनाउन सुरु गरेको बताए । ‘रेलको लिक काँग्रेसले बनाएको होईन, जसपाले पनि बनाएको होईन, त्यो एमाले नेतृत्वको सरकारले बनाएको हो ।’
उनले मधेशमा सडक, विजुली, खानेपानी, सिँचाई, ढल, नाला लगायतका समस्याप्रति आफू जानकार रहेको बताउँदै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा बन्ने आगामी सरकारले मधेशका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेसी जनताको नागरिकताको समस्या सामाधान गर्ने काम पनि एमालेले नै गरेको बताए ।
मेयर यादवसहित १८ जना वडाअध्यक्ष एमालेमा प्रवेश
सो अवसरमा अध्यक्ष ओलीले कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्षलाई अबीर लगाएर एमालेमा प्रवेश गराएका छन् ।

मधेसमा आक्रमक शैलीमा पार्टी विस्तारलाई तीव्र बनाइरहेका अध्यक्ष ओलीले जनता समाजवादी पार्टीबाट कबिलासी नगरपालिकामा मेयर जितेका मेयर यादवसहित माओवादी केन्द्रका नेता तथा विभिन्न पार्टीका वडाध्यक्षहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास रायलगायतका नेताहरूलाई एमाले प्रवेश गराएका हुन् । एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।