भाइरल पोष्ट, चन्द्रनगर ।। सर्लाहीको चन्द्रनगरमा लोसपा, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी डेढ सय बढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस चन्द्रनगरको ४ नम्बर वडा समितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा त्यहाँका १५५ जना व्यक्तिहरु लोसपा, माओवादी केन्द्र लगायतका अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
चन्द्रनगर ४ का वडा सभापति वैद्यनाथ सिंह दनुवारको अध्यक्षता तथा काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा ती व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष समेत रहनुभएका काँग्रेसका शुभचिन्तक सरोज सिंह दनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार नव प्रवेशीहरुलाई प्रमुख अतिथि सिंहसहित उप–सभापति डा .सरोज यादव, पुर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पुर्व सभापति सत्यदेव सिंह दनुवार, क्षेत्रीय सभापति हरि बहादुर लुङ्गेलीलगायतले अबीर टिका लगाई काँग्रेसमा स्वागत गर्नुभएको थियो ।
सोही अवसरमा वडा समितिले जिल्ला समितिका पदाधिकारीहरुलाई समेत दोसल्ला ओढाई सम्मान गरेको थियो । त्यस्तै वडा समितिले क्षेत्रीय सभापति हरि बहादुर लुङ्गेली, प्रदेश सभापति अनिल कुमार कर्ण, चन्द्रनगरका सात वटै वडाका सभापति साथै चन्द्रनगर गाउँपालिका भित्रका जिल्ला, क्षेत्र र प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्य साथै अन्य नेताहरुलाई समेत सम्मान गरिएको कार्यक्रमको सञ्चालन समेत गर्नुभएका काँग्रेस शुभचिन्तक सिंहले जानकारी दिनुभयो ।