भाइरल पोष्ट, हरिवन ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सर्लाही आउनुहुने भएको छ । सदरमुकाम मलंगवामा हुन लागेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली शनिवार सर्लाही आउन लाग्नु भएको नेकपा एमाले सर्लाही प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनका क्रममा प्रचार प्रसार समितिका संयोजक एवं एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेताहरु समेत आउने बताउनुभयो । शनिबार हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुहुँदै प्रचार प्रसार समिति संयोजक प्याकुरेलले आमसभामा जिल्लाभरबाट एक लाख बढी नेता कार्यकर्ता भेला हुने दाबी गर्नुभएको छ ।
कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) बाट निर्वाचित हाल जनता समाजवादी पार्टी(जसपा) आवद्द कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवसहितका जनप्रतिनिधि र अन्य पार्टीका नेता कार्यकर्ताहरुसहित तीन हजार पाँच सय बढी व्यक्ति एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले सर्लाहीले जनाएको छ । अन्य विभिन्न पालिकाका वडाध्यक्ष सहित जनप्रतिनिधीहरु पनि एमालेमा प्रवेश गर्ने दाबी गरिएको छ ।
कार्यक्रम सफल पार्नका लागि एमाले सर्लाहीले विभिन्न उपसमितिहरु गठन गरी परिचालन गरेको छ । केन्द्रीय सदस्य एवं जिल्ला सह–ईन्चार्ज बद्री न्यौपानेको संयोजकत्वमा जन परिचालन उपसमिति, प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कमला देवी महतोको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र जिल्ला सचिब केदार खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको प्रचार प्रसार समिति संयोजक प्याकुरेलले जानकारी दिनुभयो ।
पार्टी नेता केदार मैनालीले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य न्यौपाने, प्रदेश सदस्य एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं, एमाले नेता केशव ढकाल, हरिवनका वडाध्यक्षहरु सिताराम पोखरेल, यज्ञविनोद ढुंगेल, शेख मेहबुब रेजालगायतको उपस्थिती रहेको थियो ।
एमाले अध्यक्ष ओली शनिबार मध्यान्ह काठमाडौंबाट हेलिकप्टरमार्फत मलंगवा स्थित जिल्ला समन्वय समितिको तीन बिगे मैदानमा ओर्लने छन् ।