भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको १७ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको टिसिभी खोप दिईने भएको छ । देशैभर चैत्र २५ गतेबाट सुरु हुन लागेको सो रोग विरुद्धको खोप अभियान अन्तर्गत हरिवनमा हरिवनमा १५ महिनादेखि १५ वर्ष मुनिका १७ हजार १२ जना बालबालिकालाई खोप दिन लागिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अभियान अन्तर्गत जिल्लाका २०ओटै पालिकामा दुई चरणमा गरी खोप अभियान सञ्चालन हुनेछ । जस अन्तर्गत पहिलो चरणमा चैत्र २५ गतेदेखि ३० गते सम्म हरिवनले पनि खोप अभियान सञ्चालन गर्न लागेको मंगलबार संचारकर्मीहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रमका अवसरमा जानकारी दिइएको हो ।
नगर उपप्रमुख रेणुका कुमारी पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै नगर स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंहले नगरका विभिन्न विद्यालयमा अध्ययनरत १३ हजार ६ सयसहित नगरभित्रका १५ महिना देखि १५ वर्षमुनिका कुल १७ हजार १२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागिएको जानकारी दिनुभयो । नगरका सबै विद्यालयहरुमा त्यहीका शिक्षकशिक्षिकाहरुको सहयोगमा नगरबाट खटिने स्वास्थ्यकर्मीहरुले खोप दिने स्वास्थ्य संयोजक सिंहले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर रेणुका कुमारी पौडेलले हरिवनमा स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताउनुभयो । कोरोना विरुद्धको खोपमा पनि हरिवन नगरपालिका प्रदेशका १३६ पालिकामध्ये टप सेवेनभित्र परेको भन्नुहुँदै खोप अभियान सफल हुनुमा हरिवनका स्वास्थ्यकर्मीहरुको ठुलो भूमिका रहेको बताउनुभयो । उहाँले देशव्यापी सुरु हुन लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रमलाई समेत नगरका स्वास्थ्यकर्मीहरुले सफल बनाउनुहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सासापुर स्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशवाहाले समेत बोल्नुभएको थियो । नगर टिबी रोग अधिकृत रोशनी घतानी, नगर स्वास्थ्य शाखाकी नर्सिङ्ग स्टाफ लक्ष्मी आचार्य र विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
के हो टाइफाईड रोग ?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो ।
सालमोनल्ला टाफी, साल्मोनेल्ला पाराटाइफी एबीसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्ने गर्दछ । यो रोग पनि एक प्रकारको सरुवा रोग हो । यो संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीबाट सर्ने गर्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिहरुमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर र जटिलता उच्च हुने डाक्टरहरुको भनाई छ ।
यो रोग लाग्दा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने लगायतका लक्षणहरु देखिने गर्दछ ।
यो रोग लागिसकेपछि समयमै उपचार नगरे वा वेवास्ता गरे सानो आन्द्रामा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने, मस्तिष्क सम्बन्धी जटिलताहरु देखिने र विरामीको मृत्यु समेत हुन सक्ने जोखिम हुने गर्दछ ।