भाइरल पोष्ट,काठमाण्डौ ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशमा आउने प्रत्येक राजनीतिक सङ्कटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गर्नुभएको छ ।
आज बिहीवार काठमाण्डौमा आयोजित रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको पनि दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले आउँदो चुनावमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनाएका छौँ ।
नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिमा पनि करिब करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै द्विविधा छैन । हामी मिलेर नै जान्छौँ । अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उहाँले बताउनुभयो ।
उहाँले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा वृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि जानकारी दिनुभयो ।