सोम दियाली, सर्लाही ।। सर्लाहीमा पनि टाइफाईड विरुद्धको टिसिभी खोप दिईने भएको छ । जिल्लाका २०ओटै पालिकामा दुई चरणमा गरी १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरणमा चैत्र २५ गतेदेखि ३० गते सम्म सदरमुकाम मलंगवासहित ब्रह्मपुरी, हरिवन, हरिपूर्वा, ईश्वरपुर, चन्द्रनर, बागमती, पर्सा, लालबन्दी र बरहथवा गरी १० पालिका र दोश्रो चरणमा बलरा, रामनगर, बसवरिया, धनकौल, विष्णु, गोडैता, कौडेना, चक्रघट्टा, कविलासी र हरिपुर गरी १० पालिकामा खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झा ले बताउनुभयो ।

जिल्लाका क्रियाशील पत्रकारहरुलाई अभिमुखिकरण गर्न आयोजित कार्यक्रमका क्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. झाले खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाभर ५९८ खोप केन्द्रहरु तोकिएको र ती केन्द्रहरुमा खटिजाने एक हजार ३५० स्वयमसेविका र विद्यालयका शिक्षिकाहरुले बालबालिकालाई खोप दिने बताउनुभयो । उहाँकाअनुसार उनीहरुले विभिन्न विद्यालय र विद्यालयहरुले तोकेका स्थानमा गएर १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाईड विरुद्धको खोप दिनेछन् ।
नेपालमा देशैभर एकै चरणमा चैत्र २५ गतेदेखि आगामी २०७९ वैशाख १८ गते सम्म टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन गर्ने राष्ट्रिय खोप समितिले गत फागुन ९ गते गरेको निर्णय गरेको छ । सर्लाहीमा भने चैत्र २५ गते देखि ३० सम्म र आगामी वैशाख ४ गते देखि ९ गतेसम्म गरी दुई चरणमा अभियान संञ्चालन गर्न लागिएको हो ।
अभियान अन्तर्गत सर्लाहीमा १५ महिना देखि १५ वर्ष मुनिका २ लाख ६३ हजार ६०० बालबालिकालाई खोप दिईदै छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार नेपालमा करीब ७५ लाख बालबालिका टाईफाईड रोगबाट संक्रमित छन् ।
के हो टाइफाईड रोग ?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो ।
सालमोनल्ला टाफी, साल्मोनेल्ला पाराटाइफी एबीसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्ने गर्दछ । यो रोग पनि एक प्रकारको सरुवा रोग हो । यो संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीबाट सर्ने गर्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिहरुमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर र जटिलता उच्च हुने डाक्टरहरुको भनाई छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने लगायतका लक्षणहरु देखिने गर्दछ ।
यो रोग लागिसकेपछि समयमै उपचार नगरे वा वेवास्ता गरे सानो आन्द्रामा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने, मस्तिष्क सम्बन्धी जटिलताहरु देखिने र विरामीको मृत्यु समेत हुन सक्ने जोखिम हुने गर्दछ ।