भाइरल पोष्ट, हरिवन ।। प्रादेशिक नगर अध्ययन केन्द्रको कार्यविधिबारे छलफल कार्यक्रम मधेश प्रदेशको सर्लाहीमा सम्पन्न भएको छ ।
नेपाल नगरपालिका संघको सात ओटै प्रदेशका प्रदेश व्यवस्थापकहरु, प्रादेशिक नगर अध्ययन केन्द्रका फोकल पर्सनहरु, नगरपालिका संघका कर्मचारीहरु, जीआईजेडका प्रतिनिधिको सहभागितामा सर्लाही स्थित सिता प्यालेस होटलमा दुई दिने छलफल कार्यक्रम आयोजना भएको हो ।

हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईको अध्यक्षतामा मंगलवार सम्पन्न भएको छलफलका क्रममा नगर अध्ययन केन्द्रको भावी कार्यविधि कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । सो क्रममा अध्ययन केन्द्रको कार्यविधि तयार गर्न ७ सदस्यीय कमिटी समेत बनाइएको छ । समितिले १५ दिन भित्र नगरपालिका संघलाई अध्ययन केन्द्रको कार्यविधिको मस्यौदा तयार गरी बुझाउने छ ।
छलफल कार्यक्रमको समापनपछि नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, जीआईजेडका प्रतिनिधि जर्मन नागरीक डेविड लार्करसहितको सहभागिहरुको टोलीले हरिवन नगरपालिकाको अवलोकन भ्रमण समेत गरेको छ । हरिवन नगरपालिकालाई देशकै सात उत्कृष्ट मध्ये एक नगरपालिकाको रुपमा संघको २९औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको थियो ।

टोलीलाई हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान लगायतको टोलीले नगरपालिकामा स्वागत गर्नुभएको प्रादेशिक अध्ययन केन्द्र मधेश प्रदेशका फोकल पर्सन एवम् हरिवन नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेन्द्र कुमार उप्रेतीले जानकारी दिनुभयो ।