राज कुमार मोक्तान, गौशाला ।। महोत्तरीको गौशाला नगरपालिकामा सडक निर्माणको कामले तिब्रता पाएको छ । यसै शिलशिलामा वडा ११ मा अधुरो रहेको सडक ढलान हुने भएको छ । अघिल्ला योजनामा काम भएको तर अधुरो रहेको सडकको ढलान कार्य सम्पन्न गर्न नगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपभोक्ता समितिले जनाएको छ ।
अपुरो रहेको सडक ढलान कार्य सम्पन्न गर्न मंगलवार एक कार्यक्रमका बीच नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक आशा लामाले सडक ढलान कार्यको शिलान्यास गर्नुभएको छ । अधुरो सडक ढलान उपभोक्ता समितिका अध्यक्ष हिमाल बहादुर योन्जनको अध्यक्षता तथा माओवादी नेता विष्णु लामाको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच उपप्रमुख लामाले सडक ढलान कार्यको शिलान्यास गर्नुभएको हो ।
सडकको अधुरो ढलान सम्पन्न गर्न नगरपालिकाको ७ लाख रकम विनियोजन गरेको छ भने स्थानीयले ७९ हजार ८२ रुपैयाँ १७ पैसा बराबरको जनश्रमदान गर्नेछन् । यसरी कुल ७ लाख ५८ हजार ८२ रुपैयाँ १७ पैसामा उक्त अधुरो सडक ढलान हुने उपभोक्ता समितिले जनाएको छ । उक्त सडक ढलान अधुरो रहेको स्थानदेखि हिमाल योन्जनको घरसम्म ढलान हुनेछ ।
उक्त सडकको ढलान कार्य वैशाख २० गते सम्म सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ । सो सडकको ढलान सम्पन्न भएपछि गौशाला नगरपालिका ११ कोपचेली टोलसहित आसपासका २०० घर परिवार सडक सुविधाबाट लाभान्वित हुनेछन् ।