भाइरल पोष्ट, मलंगवा ।। जिल्लाको दक्षिणी भेगस्थित कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले छापा मारेको छ ।
मंगलवार दिउसो कौडेना गाउँपालिकाको कागजातहरु अख्तियारको टोलीले नियन्त्रण लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास बाट खटेको टोलीले कौडेनामा कोरोना सम्बन्धी सबै फाईलहरु नियन्त्रणमा लिएको आयोगले जनाएको छ । कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा अनियमितता गरेको उजुरीको आधारमा गाउँपालिकामा छापामारी गरी आवश्यक कागजाकत नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
कोरोनाबाट प्रभावित अत्ति विपन्न ७ सय ४२ परिवारलाई प्रति परिवार १० हजारको दरले नगद ७४ लाख २० हजार रकम वितरण गरेको भनिएपनि स्थानीयले सो रकम नपाएको भन्दै उजुरी गरेको आधारमा गाउँपालिकामा छापा मारिएको अख्तियारले जनाएको छ ।
‘राहत रकममा हिनामिना भएको भन्ने उजुरीको आधारमा कोरोनासँग सम्बन्धित कागजातहरु नियन्त्रण लिईएको हो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी बिजय कुमार शर्माले भने, ‘सो सम्बन्धी थप अनुसन्धानको कार्य भैरहेको छ ।’