भाइरल पोष्ट, धनुषा ।। अहिले तराई–मधेशमा चर्को गर्मी छ। मौसम तात्ने क्रमसँगै मानिसहरु गर्मी छल्ने उपायको खोजीमा छन् ।
तराई–मधेशबासीहरु गर्मीसँग जुध्न यति बेला आफ्नो हैसियत अनुसार कुलर, पंखा र एसी जस्ता विद्युतीय सामान धमाधम किनिरहेका छन् । एकातिर मौसमी गर्मीको पारो चढ्दैछ भने अर्कातिर चुनावी सरगर्मीले पनि तराई–मधेशलाई तताएको छ ।
यी दुवै गर्मीबीच तराई–मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ । मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन् ।
यस्तो गर्मीमा पनि व्यांकेट वितरण गरिरहेको सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ । तर धनुषको बटेश्वर गाउँपालिकाले जाडोको बेला बाँड्नुपर्ने न्यानो कम्बल अहिले धमाधम बाँडिरहेको छ ।
गाउँपालिकाले मंगलबार पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् । जाडो महिनामै बाँड्नु पर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एकजना जनप्रतिनिधिले बताए ।
यी गाउँपालिका अध्यक्ष राउत तिनै हुन्, जसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए ।
अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए । अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।
अख्तियारले अध्यक्षको प्र–२– ०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो ।
विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए ।–नेपाल खबरबाट साभार