भाइरल पोष्ट, मलंगवा ।। प्रादेशिक अस्पताल मलंगवामा सोमबार भएको तोडफोडको घटनाको अस्पतालले भत्र्सना गरेको छ । विरामीको मृत्युको विषयलाई लिएर विरामीका आफन्तहरुले अस्पतालमा हुलदंगा गरी औजार उपकरण तथा उपचार गर्ने प्रविधि तोडफोड गरेको तथा लुटपाट गरी चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज गरी कुटपिट गर्न खोजेको भन्दै त्यसको भत्र्सना गरेको हो ।

मंगलवासर एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालले चिकित्सकमाथि भएको कुटपिटको प्रयास तथा उपकरणहरुको तोडफोड गर्ने व्यक्तिहरुको पहिचान गरी कडा कार्वाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्तिता गर्न माग गरेको छ । अस्पतालका निमित्त प्रमुख मेसु डा. नबलकिशोर झाद्वारा जारी विज्ञप्ती अनुसार सोमबार दिउँसो साँढे १ बजेको समयमा मोटरसाईकल दुर्घटनामा परी दुई जना घाईते विरामीलाई अस्पताल ल्याइएको थियो । ती मध्ये २५ वर्षिय तौफिक मिकरानीको मृत्यु भईसकेको थियो भने अर्का विरामीलाई अन्यत्र रिफर गर्दा बाटैमा मृत्यु भएको थियो । यही विषयलाई लिएर विरामीका आफन्तहरुले चिकित्सकहरुमाथि गाली गलौज गर्दै अस्पतालका उपकरणहरु तोडफोड गरेका थिए ।
उनले यथास्थितिमा अस्पतालमा ईमर्जेन्सी सेवा सञ्चालन गर्न कठिनाई भएकोले दोषीको पहिचान गरी क्षतिपूर्ति भराई अस्पतालको सो सेवा सञ्चालन गराउन माग गरे । उनले दोषीलाई हदैसम्मको कानूनी कार्वाहीको लागि समेत जोडदार माग गरेका छन् ।