भाइरल पोष्ट, नवलपुर ।। नेकपा एमाले निकट मौरी किसानहरुको संगठन मौरी पालक किसान संघ नेपालको प्रथम राष्ट्रिय भेला सर्लाहीको नवलपुरमा सम्पन्न भएको छ । भेलाले मौरी किसान एमाले नेता सर्लाहीका विष्णु मैनालीको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । नव गठित केन्द्रीय कमिटीको दुई जना उपाध्यक्षमा चितवनका मौरी किसान ताराचन मास्के र मोरङ्गका मौरी किसान रेवती तिमिल्सी चयन हुनु भएको छ ।
त्यस्तै केन्द्रीय कमिटी सचिवमा मकवानपुरका मौरी किसान शालिकराम बानियाँ चयन हुनु भएको छ भने कोषाध्यक्षमा उदयपुरबाट मनोरथ कोइराला चयन हुनु भएको छ । केन्द्रीय कमिटिको दुई जना सह–सचिवमा क्रमशः कपिलवस्तुबाट अर्जुन पोखरेल र काठमाण्डौंका शम्भुकार्की चयन हुनु भएको छ भने अन्य सदस्य चयन हुनुभएको छ ।
१६औं राष्ट्रिय मह दिवसको अवसर पारी अखिल नेपाल राष्ट्रिय किसान महासंघका केन्द्रीय अध्यक्ष डा.प्रेम दंगालको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १ स्थित अनमोल होटल तथा गेष्ट हाउसको सभाहलमा भएको मौरी पालक किसान संघमा आवद्ध मौरी किसानहरुको भेलामा २४ जिल्लाका ५५ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
भेलालाई नेकपा एमाले केन्द्रीय कमिटि सदस्य महिला नेतृ कल्पना कटुवाल, मधेश प्रदेश कमिटीे उपाध्यक्ष रेवती पन्त, एमाले सर्लाही अध्यक्ष राज नारायण साह, अखिल नेपाल राष्ट्रिय किसान महासंघका केन्द्रीय सचिव राजकुमार उप्रेतीलगायतले सम्बोधन गर्नुभएको चक्रेश्वर मौरी फार्मका अध्यक्ष मौरी किसान दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो ।
भेलाकै क्रममा मौरी किसानका हकहितका लागि सरकार र सरोकारवाला निकायले मौरी किसानलाई उपेक्षा गरेको बताएका थिए । बक्ताहरुले मौरी किसान मात्रै नभई यो देशमा समग्र कृषि क्षेत्रलाई नै सरकारले उपेक्षा गरेको बताएका छन् ।
मौरी पालक किसान संघको राष्ट्रिय भेला सफल बनाउन सहयोग गर्ने मौरी किसान र पार्टी सम्वद्ध सबै अतिथिहरुलाई धन्यवाद दिनुहुँदै संघका नव निर्वाचित अध्यक्ष मैनालीले छिट्टै नै प्रदेश भेला तथा जिल्ला भेलाहरु गर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा मौरी किसानका पक्षमा काम गर्ने उमेदवारलाई जिताउनु पर्ने भन्नुहुँदै नेकपा एमाले पार्टीले मात्रै किसानको हित गर्ने भएको हुँदा एमालेलाई जिताउन सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन मौरी किसान रबि कडरियाले गर्नुभएको थियो ।