सोम दियाली, सर्लाही
चैत्र १३ गते ।। सर्लाहीको ईश्वरपुर र लालबन्दी नगरपालिकाको बीचमा अवस्थित कालिन्जोर खोलाको पुलमा यात्रुवाहक बस खस्दा मुत्यु भएका ४ जनामध्ये २ जनाको सनाखत भएको छ भने अन्य घाईते भएकाहरुको पहिचान खुलेको छ । आइतबार विहान अन्दाजी ११ बजेको समयमा बीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रु बोकेको बस अनियन्त्रित भई फुलबाट तल खस्दा ४ जनाको मृत्यु भयो भने घटनास्थलबाट ३२ जना घाईतेहरुको प्रहरीले उद्धार गरेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा भारतको बेतिया बेलसन्धि कोडार पिपराका २५ वर्षिय सुनिल यादव, सिन्धुली तीनपाटन गाउँपालिका २ की वर्ष ३० कि शर्मिला कार्की श्रेष्ठको सनाखत भएको छ भने अन्य दुई जनाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । मृत्यु भएका दुई पुरुष र दुई महिलाकै शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
त्यस्तै दुर्घटनमा परी घाईते भएका सबै ३२ जनाको पहिचान खुलेको छ । घाईते हुनेहरुमा सर्लाहीका ९ जना, महोत्तरीका ८ जना, बारा, पर्सा र रौतहटका ३÷३ जना, धनुषा, सिन्धुली र भारतका २÷२ जना रहेका छन् । सर्लाहीको लालबन्दी १ की सम्झना खत्री विश्वकर्मा, २ की सावित्री पासवान, ९ की ७० वर्षिय प्रेम कुमारी खत्री, ईश्वरपुर ८ का १८ वर्षिय मन्तोष राम, १४ का ५० वर्षिय छबिलाल महतो, निजकै श्रीमती ४४ वर्षिया सुनैनादेवी कोइरी, हरिपुर ३ का ३३ वर्षिय शत्रुधन राम, बरहथवा नगरपालिका २ का २६ वर्षिय कमल जर्गामगर र १० का २८ वर्षिय कपलेश महतो गरी ९ जना रहेका छन् ।
त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिका २ का २६ वर्षिय सोनेला महतो, ३ का ६३ वर्षिय बद्री रायमाझी, ५ की ५० वर्षिया अम्बिका श्रेष्ठ, १२ का १९ वर्षिय भरत पासवान, गौशाला नगरपालिका १ का २१ वर्षिय अजय यादव, १० का १८ वर्षिय सिरज कुमार थापा र सोनुखरा गाउँपालिका ६ का ४८ वर्षिैय मुन्न राउत गरी ७ जना रहेका छन् ।
दुर्घटनाबाट रौतहटका ४ जना घाईते भएका छन् । चन्द्रपुर नगरपालिका १ का ५८ वर्षिय यज्ञशंकर काफ्ले, ४ का २९ वर्षिय कुश बहादुर जर्गामगर, गढीमाई नगरपालिका १ का २१ वर्षिय आशिष कुमार कर्ण, र महोत्तरी घर भई रौतहट विवाह भएर आएकी २७ वर्षिय रुपा थापा घाईते भएका हुन् ।
त्यसैगरी सिन्धुलीको तीनपाटन गाउँपालिका २ की ४२ वर्षिया सबला थापा र सोही गाउँपालिका २ का अर्जुन श्रेष्ठको ३ महिनाकी छोरी अवासी श्रेष्ठ घाइते भएकी छन्, भने धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी ३५ वर्षिया शर्मिला ठकुरी र सबैला गाउँपालिका २ वस्ने ३३ वर्षिय अमृत महतो पनि घाईते भएका छन् ।
दुर्घटनामा परि बारा जिल्लाका पनि बसका चालक कलैया उपमहानगरपालिका १२ वस्ने ४८ वर्षिय ज्योति प्रसाद साह, बदलनगर ९ का १७ वर्षिय भण्डारी राय यादव, जितपुर सिमरा उपमहानगरपालिका १ बस्ने ११ वर्षिय दिपक राय घाइते भएका छन् भने पर्साको वीरगञ्ज महानगरपालिका ९ का पवन दनुवार, १८ का ४१ वर्षिय मुन्न जैसवाल र ६ का ३२ वर्षिय विकास रौनियार घाइते भएका छन् ।
दुर्घटनामा परी भारत घर भएकी ६० वर्षिया सुसिला देवी र ३० वर्षिया पूजा देवी पनि घाइते भएकी छन् । घाईतेहरुको लालबन्दीका टेक्सास अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ भने गम्भीर प्रकृतिका घाईतेहरुलाई वीरगञ्ज जनकपुर लगायतका अस्पतालहरुमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापा र ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरीको टोलीले घाईतेहरुको उद्धार गरी विभिन्न अस्पतालहरुमा पु¥याएको थियो ।