भाइरल पोष्ट, लालबन्दी ।। शनिबार बयलवासमा भएको झडपको घटनामा जसपा केन्द्रीय सदस्य एवम् संघीय संसदीय दलका नेता सांसद प्रमोद साह नै दोषी भएको नेकपा एमाले सर्लाहीले निष्कर्ष निकालेको छ ।
क्लवको जग्गाको विषयलाई लिएर भएको विवादका क्रममा स्थानीयको कुटाईबाट सांसद साहको टाउको फुटेपछि जनता समाजवादी पार्टीले ईश्वरपुरका मेयर मनोज कुमार देवकोटाको योजनामा सांसदमाथि आक्रमण भएको भन्दै जारी गरेको प्रेस विज्ञप्तीमा कुनै सत्यता नभएको नेकपा एमालेले विज्ञप्ती मार्फत जनाएको हो ।
एमाले सर्लाही अध्यक्ष राजनारायण साहद्वारा जारी विज्ञप्तीमा शनिवार बयलवासमा भएको घटनालाई राजनीतिक रंग दिई एमाले पार्टीका नेता, कार्यकर्तालाई अनावश्यक रुपमा बदनाम गरी फसाउने र सामाजिक सद्भाव भड्काउने उदेश्य जसपा रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘क्लवको जग्गाको विषयमा अघिल्लो दिन अर्थात् चैत्र ११ गते साँझ ४ बजे सांसद साह, मेयर मनोज कुमार देवकोटा, वडा अध्यक्ष रहमन अन्सारी, क्लवका अध्यक्ष प्रेम गोले, ईलाका प्रहरी कार्यालयका प्रमुख जनकराज ढुंगाना, सडक ठेकेरदार जीवन कँडेलसहित स्थानीय राजनीतिक दल, व्यापारीहरुसँग छलफल भई १२ गते विहान नालाको साईट क्लियर गरी नाला भनी सहमति भएको थियो ।
सोही सहमति अनुसार शनिबार विहान ८ बजे सम्बन्धित सबै पक्ष उपस्थित रहेको समयमा एक्कासी सांसद प्रमोद साहको नेतृत्वमा करीब ३ सयको संख्यामा बाँसको भाटासहित भारतीय नम्बर प्लेटको मोटरसाईकलमा जुलुस आएको थियो । जुलुस सिधैं बयलवास बजारको वडा नम्बर ६ को कार्यालयमा प्रवेश गर्यो, त्यहाँ सांसद साह आफैले वडा कार्यालयको गेटमा लात्ताले हानी गेट खोली नगरप्रमुख देवकोटा चढ्ने गाडी तोडफोड गरी सडक ठेकेदारको गाडी र स्काभेटर समेत तोडफोड गरेका थिए ।’
एमालेले जारी गरेको विज्ञप्ती अनुसार, हुल बाँधेर आएका साहको टोलीले होहल्ला गर्दै फर्कने क्रममा नगरपालिकाका ट्याक्टर चालक सुदिप चौधरीलाई बजारमा कुटपिट गरिरहेको अवस्थामा स्थानीयवासीले प्रतिवाद गरेका थिए । सोही समयमा सांसद साहले आफ्ना अंगरक्षकको पेस्तोल झिकी फायरीङ्ग गर्न खोज्दा स्थानीयले खोसी साहलाई नै कुटपिट गरेका थिए ।
सो घटनामा आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउँदै एमालेले घाम जतिकै छर्लङ्ग घटनाको सत्यतथ्य जाँचबुझ गरी दोषीमाथि कडा कार्वाही गर्न स्थानीय प्रसाशन सँग जोडदार माग गरेको छ । उसले स्थानीयवासी सबे पक्षलाई संयमित भई रहन आग्रह गर्दै घटनाका क्रममा घाईते भएको सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।