भाइरल पोष्ट, हरिपुर ।। क्षयरोग मुक्त पालिका घोषणा सम्बन्धी अन्तरक्रिया गर्दैै सर्लाहीको हरिपुर नगरपालिकाले १४०औं विश्व क्षयरोग दिवस मनाएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ नगर स्वास्थ्य शाखाले कार्यक्रमको आयोजना गरेको हो ।
मेयर जमरुद्धीन मन्सुरको अध्यक्षता तथा मधेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक विजय कुमार झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगरपालिकाकै सभाहलमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी झाले हरिपुरलाई क्षयरोग मुक्त पालिका बनाउन स्वास्थ्य निर्देशनालयबाट हुने सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले मधेश प्रदेशसहित नेपालबाटै क्षयरोग अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले क्षयरोगको भयावह अवस्थाका विषयमा जानकारी दिनुहुँदै क्षरोग अन्त्यका लागि नगरपालिका र सरोकारवालाहरुले खेल्नु पर्ने भूमिकाका विषयमा समेत धारणा राख्नु भयो । उहाँले हालसम्म क्षयरोग उन्मूलनका लागि भएका विश्वव्यापी प्रयास र नेपालले क्षयरोग नियन्त्रणका लागि लिएको रणीनीतिका विषयमा समेत जानकारी दिनुभयो ।
हरिपुर नगर स्वास्थ्य शाखाका प्रमुख नरेश कुमार ठाकुरले सञ्चालन गर्नुभएको कार्यक्रममा मेयर जमरुद्धीन मन्सुर, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास लगायतले बोल्नु भएको थियो । कार्यक्रममा हरिपुरका विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यहरु, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, पत्रकार र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरुले क्षयरोगका बारेमा जानकारी गराउनुभएको थियो भने हरिपुर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो । सो अवसरमा क्षयरोग मुक्त भएका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।