भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिकाले प्रभातफेरीसहित अन्तरक्रिया गर्दै १४०औं विश्व क्षयरोग दिवस मनाएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ नगर स्वास्थ्य शाखाको आयोजनामा प्रभातफेरीसहित अन्तरक्रिया गरी दिवस धुमधाम मनाईएको हो ।

हरेक वर्ष मार्च २४ का दिन यो दिवस विश्वव्यापी रुपमा मनाउने गरिएको छ । हरिवन नगरपालिकाले पनि हरेक वर्ष क्षयरोग दिवसलाई विभिन्न कार्यहरुको आयोजना गरी मनाउने गरेको छ । दिवसकै अवसरमा हरिवन स्थित सगुन सहकारी अगाडिबाट नगरपालिका कार्यालयसम्म ¥याली निकालिएको थियो । ¥यालीमा नगरपालिकाका मेयर, उममेयर, विभिन्न वडाका वडाअध्यक्षहरु, अन्य निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरु, सुरक्षाकर्मी, पत्रकार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

दिवसकै अवसरमा हरिवन नगरपालिका कार्यालयमा कोणसभा तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नगर प्रमुख गणेश प्रसाद प्रसाईंको अध्यक्षतामा भएको सभामा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक विजय कुमार झाले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी स्वास्थ्य निर्देशक झाले देशभरीमै हरिवन नगरपालिका पहिलो टिबी फ्रि पालिका बन्ने विश्वास व्यक्त गर्नुभयो । मधेश प्रदेशसहित समग्र देशभरी नै टिबी रोगको अवस्थाको बारेमा जानकारी दिनुहुँदै स्वास्थ्य निर्देशक झाले टिबी फ्रि पालिकाको अवधारणा ल्याउने पहिलो पालिका पनि हरिवन नै भएको बताउनुभयो । उहाँले मधेश प्रदेशका कतिपय उदाहरणीय कामबाट प्रभावित भएर अन्य प्रदेशले समेत त्यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुहुँदै टिबी फ्रि पालिकाको अवधारणा ल्याउनुहुने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको उच्च प्रसंसा समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समेत टिबी रोग उन्मूलनका लागि हरिवन नगरपालिकाले चलाएको अभियान प्रभावकारी बनेको भन्दै खुशि व्यक्त गरेका थिए । उनीहरुले कोभिड संकटको समयमा समेत हरिवन नगरपालिकाले प्रभावकारी काम गरेको बताएका थिए ।
कार्यक्रममा नगर पालिकाकी उपमेयर रेणुका कुमारी पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर झा, हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखाका प्रमुख उपसचिव नवराज निरौला, सेभ द चिल्ड्रेनका डा. निर्मल कुमार झा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मनकामनासहित हरिवनका विभिन्न बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुले स्काउटको भुमिका निभाएका थिए ।
सभा लगतै भएको अन्तरक्रिया कार्यक्रममा नेपालसहित विश्वमा टिबी रोगको वर्तमान अवस्था, टिबी निमूल गर्नका लागि विगतमा भएका प्रयास र टिबी रोग निमूलका लागि नेपालले लिएको रणनीतिक लक्ष्य लगायतका विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार नेपालमा हरेक दिन ४४ जनाले टिबी रोगकै कारण ज्यान गुमाउने गरेका छन् भने वार्षिक १६ हजार मानिसको टिबी रोगकै कारण मृत्यु हुने गरेको छ । नेपालमा मानिसको मृत्यु हुने कारणमध्ये टिबी रोग टपटेनमा रहेको स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । उहाँहरुका अनुसार नेपालमा झण्डै झण्डै कुल जनसंख्याको आधा मानिस टिबीबाट संक्रमित हुने गरेको छ ।

सन् २०५० सम्ममा टिबी रोगलाई प्रति १० लाख जनसंख्या बराबर एक जनामा झार्ने र सन २०३५ सम्ममा क्षयरोगबाट हुने विरामी र मृत्यु दरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी जनसंख्याको प्रमुख समस्याको रुपमा टिबी रोग अन्त्यको लागि नेपालले लिएको रणनीति अनुरुप नै काम गरे यसको अन्त्य हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
हरिवन नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा हरिवनमा टिबी नियन्त्रणको कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै सासापुर स्वास्थ्य चौकी र साझेदार संस्था बागमती सेवा समाजलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

सह–संयोजक चौधरीले दिनुभएको जानकारी अनुसार हरिवनमा प्रत्येक घरघरमा गएर विरामीको खकार संकलन गर्ने, जाँच गर्ने कार्य भईरहेको छ । त्यसका लागि स्वास्थ्यकर्मीहरु, स्वयमसेवकहरु, आमा समूहका महिलाहरुलाई यो कार्यका लागि घरघर खटाइएको छ । खोज पड्तालका क्रममा फेला परेका विरामीहरुको औषधी उपचार समेत नगर स्वास्थ्य शाखाले नै गर्दै आईरहेको छ । टिबी एक
माईक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट लाग्ने गर्दछ । यो श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो ।
