भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिका प्रमुख मेयर गणेश प्रसाद प्रसाईले राजनीतिक पार्टीका नेतृत्वकर्ताहरुले सपना देख्नु पर्ने र त्यही सपना पूरा गर्न हरेक दिन लाग्नुपर्ने बताउनुभएको छ ।
१४०औं विश्व क्षयरोग(टिबी) दिवसको अवसरमा बिहीबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर प्रसाईले हिजोका दिनमा आफूले बोलेका कुराहरु क्रमशः पूरा गर्दै लगेको बताउनुभयो । ग्लोबल फण्टको सहयोगमा बागमती सेवा समाजले आयोजना गरेको एक कार्यक्रममा आफूले हरिवनलाई टिबी फ्रि पालिका बनाउने घोषणा गरेको बताउनुहँुदै मेयर प्रसाईले आज आएर त्यो सम्भवउन्मूख भएको बताउनुभयो । उहाँले हरिवन देशकै पहिलो टिबी फ्रि पालिका बन्ने दाबी गर्नुभयो ।
‘स्वास्थ्य मन्त्रालयले गरेको एक छलफलको क्रममा मैले हरिवन नगरपालिकालाई टिबी फ्रि पालिका बनाउँछु भनेर बोलेको थिएँ, यो कुरा तात्कालीन प्रधानमन्त्री केपी ओली सम्म पुग्यो र उहाँ आफै त्यो छलफलमा बस्नु भयो । टिबी फ्रि पालिका बनाउने कुरा अत्यन्तै राम्रो भएको भन्दै मन्त्रालयले हरिवनसहित २२ ओटा पालिकाहरुमा पाईलट प्रोजेक्टको रुपमा सहयोग समेत गरेको छ ।’ मेयर प्रसाईँले भन्नुभयो, ‘आज टिबी फ्रि पालिका बनाउने अभियान देशव्यापी चलेको छ । यस मानेमा म अत्यन्तै खुशि छु , हरिवन देशकै पहिलो टिबी फ्रि पालिका बन्छ ।’
उहाँले आफूले सुरुमा केही वडाहरुलाई मात्रै टिबी शुन्य बनाएर अभियान थाल्ने योजना बनाएको भएपनि स्वास्थ्यकर्मीसाथीहरुले हिम्मत दिनुभएकै कारण नगरपालिकालाई नै टिबी फ्रि पालिका बनाउने अभियानमा आफू लागेको बताउनुभयो । टिबी फ्रि पालिकाको अवधारणा ल्याउने नै हरिवन नगरपालिका भएकोले देशकै पहिलो टिबी फ्रि पालिका पनि हरिवन नै बन्ने र हरिवनकै नाम देशभरकै पहिलो पालिकाको रुपमा अगाडि आउने विश्वास दिलाउनुभयो ।
उहाँले टिबी फ्रि पालिकाको अभियानले सार्थकता पाउँदै जानुमा स्वास्थ्यकर्मीहरुको अहम भूमिका रहेको भन्नुहुँदै हरिवनका स्वास्थ्यकर्मीले कोभिडको समयमा खेलेको भूमिकाकाको समेत प्रसंशा गर्नुभयो । हरिवन नगरपालिकाले स्थानीय स्रोत साधनको उचित परिचालन एवं व्यवस्थापन गरेर नगरको स्थानीय आर्थिक विकासमा उल्लेखनीय काम गर्न सफल देशकै उत्कृष्ट नगरपालिकाको रुपमा हरिवनलाई सम्मान गरेको भन्दै नगरवासीलाई बधाई समेत दिनुभयो ।