लन्डन ।। भर्खरै २५औं वसन्त टेकेकी विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइघ बार्टीले अकस्मात् सन्न्यासको घोषणा गरेर विश्व खेल जगतलाई आश्चर्यमा पारेकी छन् । बार्टीले सामाजिक सञ्जालमार्फत बुधबार व्यावसायिक खेलाडी जीवन टुङ्ग्याउने निर्णय गरेकी हुन् । उनले अन्य सपनाहरू पछ्याउनका लागि सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याउन लागेको बताएकी हुन् । ‘अहिले म एकदमै रित्तो छु ।
शारीरिक रुपमा तपाईहरूलाई दिन सक्ने मसँग केही छैन’, उनले भनेकी छन्, ‘मैले आफ्नो मनलाई सोधें, यो नै उचित समय हो भन्ने लाग्यो र व्यवसायिक सक्रिय खेल जीवन टुङ्ग्याउने निर्णयमा पुगें। आफ्नो यो निर्णयमा म खुसी छु । उनले आफ्नो निर्णयलाई मानिसले नबुझे पनि आफूले सही निर्णय लिएको बार्टीले बताएकी छन् । ‘अस्लेइघ बार्टीसँग धेरै सपना छन् । उनी त्यसलाई पछ्याउन चाहिन्छन् । यसका लागि मैले आफ्नो घर परिवार छाडेर टाढाको यात्रा गरिरहन पर्दैन । परिवारसँगै बसेर पनि त्यो सपना पूरा गर्न सक्छु । किनभने म आफ्नो परिवारबाट कहिल्यै पनि टाढा हुन चाहदिनँ’, बार्टीले भनेकी छन् । उनले सन् २०२१ को विम्बल्डनको उपाधि जितेपछि आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताएकी छन् ।
‘विश्व खेलकुदमा आफ्नो अन्तिम व्यक्तिगत लक्ष्य प्राप्त गरिसकेपछि पनि म पूर्ण रुपमा सन्तुष्ट हुन सकिनँ। म फरक रुपमा केही खोजिरहेको थिएँ’, बार्टीले भनेकी छन्, ‘यस खेलले मलाई जे दियो, त्यसका लागि म सबैप्रति आभारी छु र गर्वको महसुस गरिरहेको छु । सन् २०१९ मा फ्रेन्च ओपनको उपाधि जितेपछि बार्टी विश्व नम्बर एक बनेकी थिइन्। उनले लगातार ११४ साता शीर्ष स्थानमा रहँदै कीर्तिमान पनि बनाएकी छन् । उनीभन्दा अघि स्टेफी ग्राफ र सेरेना विलियम्स १८६ हप्ता र मार्टिना नवरातिलोभा १५६ हप्तासम्म शीर्ष स्थानमा बसेका थिए । बार्टीले तीन वटा ग्रान्डस्लाम जितेकी छन् । उनले गत जनवरीमा अस्ट्रेलियन ओपन जितेकी थिइन् ।