मुम्बई ।। बाहुबली निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको प्रतिक्षित चलचित्र ‘आरआरआर’ शुक्रबार रिलिज हुँदै छ । तर, रिलिजअघि चलचित्र ‘आरआरआर’ले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु परेको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ‘आरआरआर’ बहिस्कार अभियान पनि तीब्र रुपमा चलेको छ । चलचित्र कन्नड भाषामा रिलिज नहुने भएपछि यसले आलोचनाको सामना गर्नुपरेको हो । कर्नाटकका स्थानीयले वर्षकै बहुप्रतिक्षित चलचित्र कन्नड भाषामा पनि रिलिज हुनुपर्ने माग गरेका छन् । तर, निर्माण पक्षले कन्नडमा रिलिज नगर्ने भएपछि ‘बाइकट आरआरआर’ अभियान तीब्र रुपमा चलेको छ । उनीहरूले कन्नड भाषामा चलचित्र रिलिज नगरेर कर्णाटकको बेइज्जत गरेको भन्दै रोष प्रकट गरेका छन् । धेरैले चलचित्रलाई कर्नाटकमा प्रतिबन्ध लगाउनु पर्ने माग पनि गरेका छन् ।
‘आरआरआर’को डिजिटल र स्याटेलाइट राइट्स जी ग्रुपलाई तीन सय ५० करोड भारतीय रुपैयाँमा बिक्री गर्दा चलचित्र हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुने जनाइएको थियो । तर, निर्माण पक्षले कन्नड भाषामा रिलिज नहुने बताएपछि हंगामा मच्चिएको हो । ठूलो लगानीमा बनेको आरआरआरको लागत राजमौलीको अघिल्लो ब्लकबस्टर चलचित्र ‘बाहुबली’भन्दा करिब एक सय करोड बढी दाबी गरिएको छ ।
चलचित्र निर्माणमा चार सय करोडभन्दा बढी लगानी गरिएको जनाइएको छ । चलचित्र गत वर्ष नै रिलिज हुने घोषणा गरिए पनि कोरोनाका कारण रिलिज मिति पटक पटक सारिएको थियो । चलचित्रमा राम चरन, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टलगायतको मुख्य अभिनय छ । चलचित्र ब्रिटिस साम्राज्यको विषयवस्तुमा बनेको छ । तेलुगू स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिकामा राम चरन र जुनियर एनटीआर देखिने छन् ।