भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवनमा कोभिड १९ विरुद्धको ‘खोजौ र खोपौं’ अभियान निरन्तर चलिरहेको छ । विभिन्न कारण स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन नसकेका नागरीकलाई नगरपालिकाले घरघरमै पुगेर खोप दिई रहेको छ । जसको कारण कोभिड खोप लगाउनेमा हरिवन मधेश प्रदेशमै अगाडि छ । यहाँ ९१ प्रतिशतले कोभिड विरुद्धको सबै डोज खोप लगाई सकेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले दिनुभएको पछिल्लो तथ्यांक अनुसार हरिवन नगरपालिकामा ३१ हजार २९ जनाले सबै डोज खोप लगाई सकेका छन् । ती मध्ये महिला १६ हजार ४१ र पुरुष १४ हजार ९८८ जना रहेका छन् । नगर स्वास्थ्य शाखाले नगरका ३४ हजार ५०८ जनालाई फुल डोज खोप लगाउने लक्ष्य लिएको छ ।
त्यस्तै खोपको पहिलो डोज मात्रै लगाउनेको संख्या ३४ हजार १७१ रहेको छ । ती मध्ये १८ हजार ६४ जना महिला र १६ हजार ११६ जना पुरुष रहेका छन् । नगरपालिकाले पहिलो मात्राको खोपमा ९९ प्रतिशत लक्ष्य हासिल गरेको नगर स्वास्थ्य शाखाका सह–संयोजक चौधरीले तथ्यांक उपलब्ध गराउनुभएको छ ।
उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरु प्रत्येक वडा वडामा नागरीकको घरदैलो सम्म पुगिरहेकोले निसंकोच खोप लगाउन नगरवासीलाई आग्रह गर्नुभयो । उहाँले खोप लगाउन छुटेकाहरुले गाउँगाउँमा खटि आएका स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरी खोपको मात्रा लिन अनुरोध गर्नुभएको छ ।
‘खोजौं र खोपौं’ अभियान सुरु गरेसँगै हरिवन नगरपालिका वडा नम्बर १,२,३,४,५ र ७ पूर्ण खोप वडा भईसकेका छन् भने वडा नम्बर ६,८,९,१० र ११ मा पनि ‘खोजौं र खोपौं’ अभियान चलिरहेको छ । अभियान अन्तर्गत प्रत्येक दिन विहान साँढे ६ बजे नै स्वास्थ्यकर्मीहरु नागरीकको घरघरमा पुग्ने गरेका छन् ।
नगरस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार चैत्र १५ गते सम्ममा सबै वडालाई पूर्ण खोप बनाउने लक्ष्य रहेको छ ।