भाइरल पोष्ट, काठमाडौं ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले मधेस प्रदेशको राजनीतिक सन्तुलन बदल्ने दाबी गरेका छन् । उनले यसअघि मधेस प्रदेशमा एमालेप्रति घृणा फैलाइए पनि पछिल्लो समय एमालेप्रतिको आकर्षण बढ्दो रहेको दाबी गरेका छन् ।
’विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई–मधेसमा नेकपा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ,’ काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन भनिएको छ ।
उनले राष्ट्रिय राजनीतिक शक्ति प्राप्तिबाट जातीय–क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न सहयोगसमेत मिल्ने दाबी गरे। ’यसले राष्ट्रिय एकतालाई अझ खाँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ,’ प्रतिवेदनमा भनिएको छ । उनले माओवादी नेताहरुको एमाले रोजाइको विशेष महत्व रहेको र यसै घटनाक्रमले पनि एमाले प्रमुख राष्ट्रिय शक्ति बन्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
’सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा एमालेमा आबद्ध हुने जुन राष्ट्रव्यापी लहर छ, यसको खास अर्थ र सन्देश छ,’ उनले भनेका छन् । उनले एमाले प्रवेशको शृङ्खलालाई आगामी दिनमा अझै तीव्र पार्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। त्यसका लागि गठबन्धन आबद्ध पार्टीका असन्तुष्ट नेता कार्यकर्तासँग पहुँच र सम्वाद अगाडि बढाउन र पार्टीमा भित्र्याउन उनले निर्देशन दिए ।