भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीका किसान यतिबेला मह काढ्नमा व्यस्त हुन थालेका छन् । चैत्र र बैशाख महिना मह उत्पादनका लागि उपयुक्त सिजन भएकोले यहाँका किसान यतिबेला मह काढ्न मै व्यस्त भएका हुन् ।
मह उत्पादनका लागि उपयुक्त समय भएपनि यस वर्ष गएका वर्षहरुभन्दा महको उत्पादन कम हुने मौरी किसानहरुले बताएका छन् । पछिल्लो सयम हरेक प्रकारका बालीमा विषादीको अध्यधिक प्रयोग हुने गरेकोले मौरीले चाहेजति मह संकलन गर्न नसकेको चक्रेश्वर मौरी फार्मका अध्यक्ष जिल्लाका पुराना मौरी पालक किसान दुर्गा बहादुर खड्काले बताउनुभयो ।
‘हामीले यो सिजनमा २० देखि २५ टन मह संकलन गर्ने लक्ष्य लिएका थियौं, तर मौरीले यसपटक मह बनाउनै सकेन ।’, चक्रेश्वर मौरी फार्मका अध्यक्ष खड्काले भन्नुभयो ।, ‘हामीसँग एक हजार घार छन् । समूहमा ९÷१० जनाको टीम छ । तर पनि यसपटक हामीले लक्ष्यअनुसारको मह संकलन गर्न सक्दैनौं । लक्ष्य अनुरुप नभएपछि १० टनभन्दा बढी नै मह संकलन भने हुन्छ ।’
उहाँले पछिल्लो समय सर्लाहीमा मौरी पालन व्यवसाय फस्टाउनुको सट्टा खस्कँदै गएको बताउनुभयो । ‘गतवर्षयता सर्लाहीमा मौरी पालनको अवस्था सन्तोषजनक छैन । किसानहरु पलायनको अवस्थामा पुगी सकेका छन् ।’ यसको कारण के हो त भनेर सोधिएको प्रश्नमा अध्यक्ष खड्काले भन्नुभयो, ‘मुख्य कुरा त सरकारले मौरी व्यवसायलाई व्यवसाय नै मान्न सकेन । मौरी पालन व्यवसायलाई प्रोत्सान गर्न नीति नै बनाएर अघि बढ्नु पर्नेमा सरकार आफै चुकेको छ । जसको कारण मौरी व्यवसायीहरु यो पेशाबाट पलायन हुने अवस्थामा पुगेका छन् ।’
नीति नै बनाएर मौरी पालन व्यवसायलाई व्यवस्थित बनाउन सके यूवाहरुले विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने र देश महमा समेत आत्मनिर्भर हुने अध्यक्ष खड्काले बताउनुभयो ।
उहाँले स्थानीय सरकारले समय मौरी पालन व्यवसायलाई चिन्न नसकेको बताउनुभयो ।