भाइरल पोष्ट, मलंगवा ।। नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला सह–ईन्चार्ज बद्री प्रसाद न्यौपानेले यो देशमा सबै जातजातिको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी नै एमाले भएको बताउनुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीको दोश्रो जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री समेत रहनु भएका नेता न्यौपानेले अहिले देशभर नेकपा एमालेकै लहर चलेको देखेर अन्य पार्टीहरुको मुटुमा ढ्यांग्रो ठोकेको बताउनुभयो । उहाँले परिवर्तनका लागि भएको विभिन्न समयमा भएको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘नेकपा एमालेमा भएको यो उपस्थितिले काँग्रेस, माओवादी लगायत मधेशवादी दलको मुटुमा ढ्यांग्रो ठोकेको छ ।’ उहाँले भन्नुभयो,‘नेकपा एमालेले यो देशको परिवर्तनको लागि खेलेको भूमिका कै कारण आम जनताको आकर्षणको केन्द्र बनेको हो । चाहे हुलाकी मार्ग होस्, चाहे भारतले लगाएको नाकाबन्दीका समयमा लिएको अडान होस्, या लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर नक्सा जारी गर्ने कार्य होस् । सबै नेकपा एमालेले गरेको हो ।’
उहाँले मधेशको विकासका लागि पनि आसन्न चुनावमा नेकपा एमालेले भारी मतका साथ जित्नु आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै क्षेत्रमा पार्टीलाई जिताउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।