भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भूमि आयोगसँग सम्झौता गरेको छ । राष्ट्रिय भूमि आयोग ताहाचल काठमाडौं र हरिवन नगरपालिकाबीच मंगलबार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न कार्य सहमति पत्रमा हस्ताक्षर भएको हो ।
भूमि सम्बन्धी ऐन २०२१, भूमि सम्बन्धी नियमहरू २०२१, राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ र अन्य प्रचलित कानूनमा भएका व्यवस्था बमोजिम कार्यसम्पादन गर्न आयोग र नगरपालिका दुबै पक्ष सहमत भई कार्य सहमति पत्रमा हस्ताक्षर भएको हरिवन नगरपालिकाका प्रमुख मेयर गणेश प्रसाद प्रसाईले सामाजिक सञ्जाल मार्फत् जानकारी दिनुभयो ।
कार्य सहमति पत्रमा हरिवन नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र राष्ट्रिय भूमि आयोगको तर्फबाट आयोगका सदस्य टेक बाहादुर शाह, आयोग सदस्य सचिव अमिर प्रसाद न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । कार्यसहमति पत्रमा हस्ताक्षर भएसँगै अब नगरपालिकाले आयोगसँगको समन्वयमा नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले बसोबास या आवाद कमोट गरेको बस्तीहरुको विवरण, लगत संकलन कार्यका लागि सेवा केन्द्र प्रमुख तथा तथ्याङ्क संकलक, तथ्याङ्क प्रविष्टिकर्ता, नापी कामदार फिल्ड सहयोगी तथा आवश्यक अन्य जनशक्ति व्यवस्थापन गर्नेछ ।
त्यस्तै नगरपालिकाले नापी कार्यालयबाट खटिएका नापी टोलीको कार्यकक्ष व्यवस्थापन गरी आवश्यक पूर्वाधारहरु (कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि) सहितको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र गठन गर्ने र सो सेवा केन्द्रको संलग्न ढाँचा बमोजिमको साइनबोर्ड समेत राखिने नगरप्रमुख प्रसाईले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।
अघिल्लो सरकारको पालामा बनेको भूमिसम्बन्धी आयोग सक्रिय रहँदाको बखत नै नगरपालिकाको भूमी सम्बन्धी ईकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक संकलनको काम सम्पन्न गरेको थियो । केही वडाहरुको तथ्यांक कम्प्युटराईज समेत भई सकेको थियो भने जग्गाका नापजाँच गर्ने, मुचुल्का गर्ने लगायतका काम समेत सम्पन्न भईसकेको थियो । नगरको भूमिसम्बन्धी ईकाइले दिएको जानकारी अनुसार हरिवनमा भूमिसम्बन्धी ९० प्रतिशत काम सम्पन्न भईसकेको अवस्थामा भूमि आयोग खारेज भएको थियो ।
ईकाईका अनुसार हरिवन नगरपालिकामा २ हजार १३४ अव्यवस्थित बसोवासी, ७५४ भूमिहीन सुकुम्वासी र १५२ भूमिहीन दलित रहेका छन् ।